२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


७० वर्षमा चालक अनुमति परीक्षा उत्तीर्ण


0
Shares

सूर्यविनायक नगरपालिकाका–७ गुन्डुका पूर्णबहादुर बस्नेतले मंगलबार ७० वर्षको उमेरमा स्कुटरको परीक्षा उत्तीर्ण गरेका हुन् । आइतबार लिखित परीक्षा उत्तीर्ण गरेका पूर्णबहादुरले मंगलबार प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गरे ।

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महेश बस्नेतका पिता पूर्णबहादुरले ३९ वर्षदेखि साइकल चलाउँदै आएका थिए ।

दुई वर्षअघि नातिनीको स्कुटर चलाउन थालेका पूर्णबहादुरले स्कुटरमा श्रीमतीलाई राखेर धार्मिक मठमन्दिरमा जान अब सजिलो भएको बताए ।

उनले भने–‘धेरैपटक स्कुटरमा पशुपति, डोलेश्वर, आशापुरीलगायत मन्दिर पुगेको छु, कहिलेकाहीँ गाउँमा स्कुटर चलाउँदा छोरा महेशले लाइसेन्स नभइ स्कुटी चलाउँदा समस्या पर्छ भनेपछि लाइसेन्सको ट्रायल दिएको हुँ, पास भएँ ।’

कुनै घटना भइहाले पूर्वमन्त्री, सांसदका बाबुले लाइसेन्सबिना स्कुटी चलाए भनेर खबर जाला भनेर छोराले सुझाएपछि लाइसेन्स परीक्षामा सहभागी भएको उनको भनाइ थियो ।

पूर्णबहादुरले राधेराधेस्थित इजीवे ट्रायल सेन्टरमा एक साता परीक्षासम्बन्धी ज्ञान लिएपछि पहिलोपटकमै लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको सन्चालक निर्भयबाबु प्रसाइँले जानकारी दिए । रासस