१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


पोखरामा यसरी तयार हुँदैछ प्रदेश कार्यालय राखिने स्थान (भिडियो)


0
Shares

प्रदेश संसद बस्ने दिन नजिकिँदै गर्दा पोखरामा प्रदेश सरकारका कार्यालय रहने स्थानको मर्मत र सरसफाई युद्धस्तरमा हुन थालेको हो ।

प्रदेशसभाका सांसदले शपथ लिएसँगै पोखरामा प्रदेशसभा हललगायत अन्य पूर्वाधारको तयारी युद्धस्तरमा भइरहेको छ । प्रदेश नम्बर ४ मा अब चाँडै नयाँ सरकार गठन हुँदै छ ।

त्यसका लागि राजनीतिक दलहरुको ध्यान मुख्यमन्त्री छनोटतर्फ केन्द्रित भएको छ । त्यसअघि नै सबै कार्यालय तयार गरिसक्नुपर्ने छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले मन्त्रिपरिषद् कार्यालयको निर्देशनअनुसार प्रदेश प्रमुखको कार्यालय, सचिवालय, निवासलगायत मुख्यमन्त्री, मन्त्रीको कार्यालय र आवासको तयारी भइरहेको बताए ।

साविकको अध्यागमन कार्यालयलाई पर्यटन बोर्डको कार्यालयमा स्थानान्तरण गरी प्रदेश प्रमुखको कार्यालयको स्थापना गरिएको छ ।

त्यस्तै प्रदेशसभा र प्रदेशसभा सचिवालयका लागि नगर बिकास प्रशिक्षण केन्द्रमा आवश्यक पूर्वाधार थप्ने काम भइरहेको छ ।

क्षेत्रीय प्रशासन र जिल्ला प्रशासनले प्रदेश प्रमुख, प्रदेशसभा, मुख्यमन्त्रीको कार्यालय, सचिवालय र निवासका लागि विभिन्न स्थानमा सिफारिससँगै कार्यालय खाली गरी मर्मत जारी छ ।

मुख्यमन्त्रीको कार्यालय जिल्ला समन्वय समितिमा राखिएको छ । महानगरपालिकाको अतिथीगृहमा निवास राखिने भएको छ ।

क्षेत्रीय प्रशासन र अध्यागमनको कार्यालयमा प्रदेश प्रमुखको कार्यालय स्थापना भइसकेको छ भन्ने सचिवालय क्षेत्रीय प्रशासकको कार्यालय रहेको छ ।

क्षेत्रीय प्रशासकको आवसमा प्रदेश प्रमुखको निवास बनाइएको छ ।

मुख्यमन्त्री, गृह र अर्थमन्त्रीको कार्यालय प्रस्ताव गरिएको सीप विकास प्रशिक्षण केन्द्रको भवन निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ ।

जिल्ला भूसंरक्षण कार्यालयका १० कोठा खाली गराइएको छ । त्यहाँ प्रदेश मुख्यसचिवको निवास राखिने भएको छ ।

त्यसैगरी अन्य १२ मन्त्रालयका लागि तारागाउँ रिसोर्टमा उपसभामुखको निवास, क्षेत्रीय वन, शिक्षा, खानेपानी तथा ढल निकास, क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण, सहकारी प्रशिक्षण तथा डिभिजन, क्षेत्रीय हुलाक, सडक, सिँचाइ, स्वास्थ्य, क्षेत्रीय कृषि, जिल्ला कृषि कार्यालय, घरेलु तथा साना उद्योग र सहरी विकास तथा भवन डिभिजन कार्यालयमा मन्त्रालय राखिनेछ ।

पोखरा-लेखनाथ महानगरपालिकाको ड्यामसाइडस्थित गेस्ट हाउसलाई तत्कालका लागि मुख्यमन्त्रीको निवासका रूपमा प्रयोग गरिने भएको छ ।

मुख्यमन्त्रीको कार्यालय र निवास तत्कालका लागि अस्थायी रूपमा तोकिएको हो ।

प्रदेश संसद् भवनमा ६० सांसदसहित पत्रकार, पर्यवेक्षक, विशिष्ट व्यक्ति गरी कम्तिमा डेढ सय जना क्षमताको सभाहल तयार पारिएको छ ।

भौतिक पूर्वाधार निर्माण, कार्यालयहरु मर्मत र विस्तारका लागि २७ करोड ५० लाख रुपैयाँ लाग्ने प्रस्ताव अनुमान छ  ।

(भिडियो)