Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


सहिद घोषणाको बाँदरमुढे पीडितद्वारा स्वागत


0
Shares

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वि.सं. २०६२ जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रीबाहक बसमा भएको बम विस्फोटमा परी मारिएका ३८ जनालाई सहिद घोषणा गरेकामा समितिले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी स्वागत गरेको हो ।

समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेद्वारा जारी विज्ञप्तिमा लामो समयदेखि आफूहरुले राखेको माग वर्तमान सरकारले सुनुवाइ गरेको उल्लेख छ ।

समितिले आगामी दिनमा पीडकलाई सजाय र पीडितलाई न्याय तथा परिपूरण दिन सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

विज्ञप्तिमा वर्तमान सरकारको सहिद घोषणाको निर्णयलाई सहयोग र स्वागत गरिने जनाइएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई पूर्णरुपमा सहयोग गरी पीडितलाई बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न मागसमेत गरिएको छ ।

माडीको बाँदरमुढे खोलामा २०६२ साल जेठ २३ गते यात्रीबाहक बसमा बम विस्फोट हुँदा ३८ जनाले ज्यान गुमाएका थिए । ७२ जना घाइते भएका थिए ।

सो घटनामा माओवादी केन्द्रले माफी माग्दै आएको छ । रासस