
प्रदीप पौडेल (इमेज)
पोखरा, मंसिर २२ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखराका कैदीबन्दीको आवासगृहमा न्यूनतम् आवश्यकता पूरा नभएको बताएका छन् ।
कारागार व्यवस्था विभाग कास्कीको शनिबार पोखरामा कारागार निरीक्षण गर्दै उनले कैदीका लागि सुत्ने र खेल्ने ठाउँ पर्याप्त नभएको भन्दै आधारभूत संरचना पूरा गर्न पहल गर्ने आश्वासन दिए ।
विगतमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँगै आफूले यही कारागारमा बन्दी जीवन बिताएको उनले स्मरण गरे ।
‘विगतभन्दा धेरै सुधार भएको छ । यतिलेमात्र पुग्दैन । थप सुधार आवश्यक छ’–उनले भने ।
अध्यक्ष तिमिल्सिनाले २०४२ सालमा ६ महिना र २०४४ सालमा ८ महिना गरी झन्डै डेढ वर्ष कैदी जीवन आफूले यसै कारागारमा बिताएको सुनाए ।
सो कारागारमा अहिले ७५८ जना कैदीबन्दी रहेका छन् । जसमा ५३ जना महिला छन् ।
कारागार व्यवस्थापन कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद सुवेदीले कारागारको क्षमता २०० भएपनि कैदीबन्दीको संख्या झन्डै चारगुणा बढी रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्