
झापा । भारतको कोलकातामा सुरु भएको ‘हिमालयन सुन्तला महोत्सव’मा नेपालमा उत्पादित सुन्तलाप्रति उपभोक्ताको आकर्षण बढी देखिएको छ ।
हिजोबाट सुरु भएको तीन दिने महोत्सवमा नेपाल, भुटान र भारतका विभिन्न स्थानमा उत्पादित सुन्तला प्रदर्शनीमा राखिएको छ ।
तीमध्ये नेपालमा उत्पादित सुन्तलाप्रति उपभोक्ताको आकर्षण बढी देखिएको आयोजकले बताएको छ ।
नेपालमा उत्पादित सुन्तला स्वादिलो हुने भएकाले अवलोकन गर्ने र किन्नेको भीड लागेको महोत्सव आयोजक एसोसिएसन फर कन्जर्भेसन एन्ड टुरिज्म (एक्ट) कोलकाताले जनाएको छ ।
महोत्सवको उद्घाटन नेपालका महावाणिज्य दूत एकनारायण अर्याल र बंगालका पर्यटनमन्त्री गौतम देबले गरेका थिए ।
कार्यक्रममा महावाणिज्य दूत अर्यालले भारतमा नेपाली सुन्तलाको माग बढ्दै गएको भए पनि निर्यातमा अझै धेरै समस्या रहेको बताए ।
उनले यो महोत्सवले नेपाली सुन्तला प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महोत्सवमा राखिएका सुन्तलासँगै नेपालमा उत्पादित एभोकाडो, मह, अलैंची र छुर्पीमा पनि उपभोक्ताको आकर्षण बढी देखिएको छ । प्रत्येक दुई वर्षमा हुने महोत्सवमा नेपालले सहभागिता जनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्