Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


भैरहवा सेजमा उद्योग दर्ताको समय सकिँदै, अहिलेसम्म पाँच उद्योग दर्ता


0
Shares

माघ १२ गते सेज व्यवस्थापनले उद्योग दर्ताका लागि १५ दिनभित्र उद्योग दर्ता गर्ने समयसीमा दिएसँगै मंगलबारसम्ममा पाँचओटा उद्योग दर्ता भएको विशेष आर्थिक क्षेत्र विकास समितिका प्रवक्ता सुन्दर थापाले जानकारी दिए ।

थापाकाअनुसार इस्तियाक अहमद खाँको सुगम नानो हर्बल, श्रद्धा तिमिल्सिनाको आइडीएस इनर्जी र गार्मेन्ट उद्योग, अमिरप्रताप राणाको किरण सुज दर्ता भएका छन् ।

त्यस्तै, मेहेन्द्रकुमार गोयलको एक्सेल गार्मेन्ट प्रोसेसिङ तथा रवीन्द्रमान श्रेष्ठको मिनरल वाटर प्रोसेसिङ पनि दर्ता भएका छन् । अरु जुस उद्योगहरु दर्ताको प्रकियामा रहेको थापाले बताए ।

सेज व्यवस्थापनले १२ माघमा उद्योग दर्ताका लागि दिएको समय माघ २४ गते बुधबार सकिँदैछ ।

प्रवक्ता थापाले उद्योग सन्चलानमा समझदारी गरेका १९ ओटा उद्योगमध्ये १२ ओटा उद्योगले दर्ताका लगि फाराम लगेको उल्लेख गर्दै दर्ताका लागि आउनेक्रम पनि जारी रहेको बताए ।

सो समयभित्र सबै उद्योगले दर्ता नगरे नयाँ उद्योगका लागि पुनः आह्वान गरिनेछ भने पूरानो सम्झौता खारेज हुनेछ ।

रुपन्देहीको रोहिणी गाउँपालिकाको बगाहामा ५२ विगाहा क्षेत्रफलमा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा १४ सय देखि ३७ सय वर्गमिटरसम्मका ६९ ओटा प्लटहरु रहेका छन् ।

त्यसमध्ये उद्योग सन्चालन र उद्योग स्थापनाका लागि ‘एमओइ’ गरेका १९ ओटा उद्योगले ५८/५९ ओटा प्लटको माग गरेको प्रवक्ता थापाले जानकारी दिए ।

उनले यस विशेष आर्थिक क्षेत्रभित्र खाद्यउद्योग, कृषिजन्य हर्बल प्रोडक्टस्, छालाको वस्तु, तयारी पोसाक, हस्तकला, धातु तथा प्लास्टिक उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइने बताए । ती उद्योगले ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने प्रावधान छ ।