
यसअघि, तीनपटक गरी १० महिना समय थप गरिएको थियो । अहिले करिब तीन महिना मिति थप्ने तयारी गरिएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार हालसम्म ७४ प्रतिशत काम सम्पन्न भएको छ । फागुन पहिलो साता पछिल्लोपटक थपिएको समय सकिँदँछ ।
सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्नेगरी ठेक्का दिइएको थियो । त्यसलगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण मिति थप गरिँदै आएको थियो ।
वि.सं. २०७४ सुरु भएयताको दुईपटकको निर्वाचन, वर्षात्को समय, चाडपर्वको समय र थपिएको कामका कारण मिति थप्न लागिएको खनालले बताए ।
ठेकेदार कम्पनीले भूकम्पको समयमा तत्कालीन सरकारले एक वर्षसम्म मिति थप्न सकिने जनाएको भन्दै एक हजार चार दिनसम्म मिति थप मागेको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए ।
उनले भने–‘ठेकेदारले त अस्वाभाविक समय मागेका छन् तर रोकिएको दिनको परिपूर्ति हुने गरी मिति थपिन्छ ।’ आउँदो साताभित्रमा मिति थप्ने तयारी आयोजनाले गरेको छ ।
दिउँसो यातायात रोकेर गरिएको काम प्रभावकारी
पछिल्लो समय माघ १३ गतेदेखि दिउँसोको समयमा यातायात रोकेर काम गरिँदै आएको छ । त्यसअघि रातको समयमा सवारी रोकेर काम गरिएको थियो ।
दिउँसोमा काम गर्दा प्रभावकारी भएको इन्जिनियर खनालले बताए ।
उनले भने–‘अहिले दिनको समयमा सडक रोकेर काम थालिएसँगै कामले पनि गति लिएको छ ।’ भित्तो काट्ने र कालोपत्र गर्ने काम सँगसँगै भइरहेको छ ।
खनालकाअनुसार फेब्रुअरी ४ तारिखका दिन एकैदिन करिब एक प्रतिशत काम भएको थियो । एक प्रतिशत भन्नाले करिब रु तीन करोडको काम हुनआउँछ ।
हालसम्म तीनओटा खन्डमा गरेर १७ दशमलव ७ किलोमिटर सडक कालोपत्र भएको छ । सो सडक तीन तह कालोपत्र गरिँदैछ । थप सात किलोमिटरको कालोपत्र गर्ने अन्तिम तयारी भएको छ ।
सडकलाई तीन खन्ड गरेर ठेक्का दिइएको छ । पहिलो खन्ड आँपटारीदेखि १० दशमलव ४ किलोमिटर मुग्नितर्फ ६ किलोमिटर सडक कालोपत्र भएको छ । उक्त खन्ड बीएलए तथा श्रेष्ठ निर्माण कम्पनीले ठेक्का लिएको छ ।
दोस्रो खन्ड निर्माणको जिम्मा लिएको उड हिल तथा लामा निर्माण कम्पनीले १० दशमलव ७ किलोमिटरमध्ये हालसम्म ७ दशमलव ७ किलोमिटर सडक कालोपत्र गरेको छ ।
तेस्रो खन्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीले १२ दशमलव १ किलोमिटरमध्ये ४ किलोमिटर सडक कालोपत्र गरेको छ ।
उक्त सडकखन्ड ३३ दशमलव २ किलोमिटर रहेको छ । जसमध्ये ५५ प्रतिशत भाग कालोपत्र गरिएको हो । तीन खन्डमध्ये सबैभन्दा बढी बीचको सडकखन्डको काम प्रभावकारी देखिएको छ ।
खनालकाअनुसार यही गतिमा काम भएमा सो खन्ड भने आउँदो एक महिनामा सम्पन्न हुनेछ । अन्य दुई खन्ड पनि चैतसम्ममा भित्तो काट्नुपर्नेबाहेक अधिकांश भाग कालोपत्र भइसक्ने उनले बताए ।
सो सडकको १६ किलोमिटरमा ३०० मिटर पहाड काट्नुपर्नेमध्ये १२० मिटर काटिसकिएको छ भने १८० मिटर काट्न बाँकी छ । त्यसको पनि माथिल्लो भाग काटिएको छ ।
घुमाउनेमा २०० मिटर भित्तो काट्नुपर्नेमा १०० मिटरमात्रै बाँकी छ । सोको पनि माथिल्लो भाग निकै तल झरेर ८ मिटर उचाइमा आइपुगेको छ । सो क्षेत्रमा ४४ मिटर अग्लो पहाड थियो ।
उता, तेस्रो सडकखन्डको भने चेपाङडाँडामा २०० मिटर पहाड काट्नुपर्ने छ । सोको भने निकै कममात्रै प्रगति भएको देखिन्छ । सो पहाड काट्न भने निकै कठिन भइरहेको खनालले बताए ।
नारायणगढ र गोरखा जोड्न सन् १९८२ मा चीन सरकारको सहयोगमा सो सडक बनेको थियो ।
नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत् एसियाली विकास बैंकको ऋण सहयोगमा यो सडकको स्तर उकास्ने काम सुरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्