२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


जंगलमा खेर गएको फलफूलबाट अचार र मिठाई बनाएर आम्दानी (भिडियो)


0
Shares

ताप्लेजुङका जंगलमा प्रशस्त पाईने मेल, अमला, किवि साथै पहाडी क्षेत्रमा पाईने अदुवा लगायतका बस्तुबाट एक प्रकारको मिठाई केण्डी बनाउने तालिम पाएसँगै यहाँको महिलाको आम्दानीको स्रोत बढेको हो ।

ताप्लेजुङका जंगलहरुमा प्रसस्त पाईने फलफुल तथा जडिबुटिलाई संकलन गरी प्रसोधन गर्दै विभिन्न परिकार बनाउन थालेपछि जिल्लाका महिलाले राम्रो आम्दानी गर्न थालेका छन् ।

जंगलमा प्रसस्त पाईने अमला, मेल, किवि साथै गाउँघरमा सहजै पाईने लब्सी, कागति, अलैंची र अकबरेबाट विभिन्न मिठाई र अचार जन्य बस्तु बनाउन उनिहरुले सुरु गरेका हुन् ।

वातावरण संरक्षण तथा विकास मञ्चको हिमालीका कार्यक्रमले गाउँमा पाईने ती फलफुलबाट यस्ता सामाग्रि बनाउन तालिम दिएपछि उनिहरु व्यवसायिक बन्न थालेको हिमालिका कार्यक्रमका प्रमुख हरिस चन्द्र चिलवाल बताउँछन् । .

अन्य जिल्लामा अमलाबाट विभिन्न अचार र मिठाई बनाइएको भए पनि ताप्लेजुङमा मेल प्रसस्त पाईने हुँदा यसको प्रयोगबाट पनि अमलाको जस्तै परिकार बनाउन सफल भएको महिलालाई तालिम दिन ताप्लेजुङ आएका प्रशिक्षकहरुको भनाइ छ ।

ताप्लेजुङको प्रमुख नगदेबालि अलैंचीको दानाबाट जुस, किविबाट अचार र अलैंचीको चिया पहिलोपटक बनाई प्रयोग गरिएको प्रशिक्षक कमला श्रेष्ठको भनाइ छ ।

फलफुलबाट बनाइने केण्डी, चिप्स, पाचक, तितौरा, जाम, अचारलगायतका परिकार बनाउनको लागि ताप्लेजुङ उच्च संभावनाको जिल्ला रहेको उनीहरुको भनाइ छ ।

जिल्लामा रहेका केहि गैर सरकारी संस्थाको सहयोग र लगानीमा नै यसरी जंगलमा खेर गईरहेका फलफुलको सदुपयोग गरी महिलाले आम्दानीको बाटो बनाएका छन् ।

अझै जिल्लाका धेरै गाउँपालिकामा प्रयोगबीहिन अबस्थामा मेल, अमला, हरो, लप्सी लगायतका फलफुल खेर गईरहेका छन् ।

गैर सरकारी संस्थाले मात्रै नभई सरकार र स्थानीय निकायले पनि यस्ता फलफुलको सदपयोग गरी गाउँमानै रहेका स्थानीयलाई तालिम र प्रशिक्षण दिई उद्योग स्थापना गर्न सके जिल्लाको आर्थिक स्थिति अझै मजबुत हुने थियो नै बेरोजगारी दर पनि अवस्य घट्ने थियो ।

(भिडियो)