
४ नम्बर प्रदेशबाहेक अरु सबै प्रदेशले भावी मूख्यमन्त्रीको टुंगो लगाइसकेका हुन् ।
सात प्रदेशमध्ये प्रदेश १, ३, ४ र ५ मा एमाले, २ मा संघीय समाजवादी फोरम तथा ६ र ७ मा माओवादी केन्द्रबाट मूख्यमन्त्री बन्दैछन् ।
जसअन्तर्गत एमालेबाट प्रदेश १ मा शेरधन राई, ३ मा डोरमणि पौडेल र प्रदेश ५ मा शंकर पोखरेल मूख्यमन्त्री हुने निश्चित भैसकेको छ ।
प्रदेश २ मा मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत मूख्यमन्त्री हुने निश्चित छ ।
माओवादीको भागमा परेको प्रदेश ६ मा महेन्द्रबहादुर शाही र प्रदेश ७ मा त्रिलोचन भट्ट संसदीय दलको नेतामा चयन भएसँगै मूख्य मन्त्री बन्ने टुंगो लागेको हो ।
चार नम्बर प्रदेशमा पनि को मूख्यमन्त्री बन्ने भन्ने आज टुंग्गिँदै छ । सहमति नबनेपछि एमालेले चुनावी प्रक्रियाबाटै नेता चुन्दैछ ।
मूख्यमन्त्री बन्ने दौडमा एमाले प्रदेश–४ का संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ हुनुहुन्छ ।
किरण गुरुङ तनहुँ–२ (ख) बाट र पृथ्वीसुब्बा गुरुङ लमजुङ (ख) बाट निर्वाचित भएका हुन । प्रदेशमा एमालेका २७ सदस्य छन् ।
१५ सांसद रहेको नेपाली कांग्रेसले पनि अहिलेसम्म प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न सकेको छैन । नेताका आकांक्षीमा कृष्णचन्द्र नेपाली, मणिभद्र शर्मा र बिन्दुकुमार थापा छन् ।
सभामुख पाएको माओवादी केन्द्रले भने आफूले पाउने सबै पदमा उम्मेदवार टुंगो लगाएको छ ।
पर्वतको प्रदेश सभा ‘क’ का सांसद नेत्रनाथ अधिकारीलाई सभामुख बनाइने भएको छ भने संसदीय दलको नेतामा हरिबहादुर चुमान र उपनेता रामजी बराललाई बनाइएको छ ।
प्रमुख सचेतक गायत्री गुरुङ र सचेतकमा चन्द्रबहादुर बुढालाई तोकिएको छ । फागुन ३ गते सभामुख चुन्न निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्