
रुकुम/मनाङ, फागुन १ । रुकुममा लामो समयपछि वर्षासँगै हिमपात शुरु भएको छ । रुकुममा हिजो साँझबाट पानीसँगै भारी हिमपात सुरु भएको हो ।
रुकुम पश्चिम र पूर्वका सबै ठाउँमा पानी परेको छ भने रुकुम पश्चिमका केही ठाउँ र रुकुम पूर्वका सबै गाउँपालिकामा भारी हिमपात भएको छ ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा पर्ने गोतामकोट, स्यालाखदी, घेत्मा, गोतामकोट, झारमारे लगायतका वडामा पानीसँगै भारी हिमपात भएको छ ।
त्यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङमा भारी हिमपात भएको छ । भूमे गाउँपालिका र पुथाउत्तरगंगा गाउँपालिकामा पनि हिउँ परेको छ ।
त्यस्तै भुमे गाउँपालिकाको महत गुनाम, काँक्री, काँडा, लावाङ, लुकुम लगायतका ठाउँमा पनि पानीसँगै हिमपात भएको छ ।
हिमपात भएसँगै यहाँको तापक्रम माइनसमा झरेको र जनजीवन कष्टकर बनेको छ ।
यस्तै, हिमाली जिल्ला मनाङमा पनि भारी हिमपात भएको छ । हिमपातले जनजीवन कष्टकर हुनुका साथै सवारी आवागमन ठप्प बनेको छ ।
चामे गाउँपालिकाको तिमाङ, दानाक्यु, चामे, माथिल्लो क्षेत्रको मनाङ, पिसाङ, हुम्डे, थोराङला, घ्यारु, ङावल, हुम्डे, तिलिचो क्षेत्र साथै नारफू क्षेत्रलगायतमा हिमपात भएको स्थानीयले बताएका छन् ।
चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटक बीचबाटो मै रोकिएका छन् । हिमपातका कारण चामेबाट तल्लो क्षेत्र र माथिल्लो क्षेत्रमा सवारी गुड्न सकेका छैनन् ।
तल्लो क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रमा बढी हिमपात भएको स्थानीयले बताका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङकाअनुसार हिमपातका कारण थोराङला र तिलिचो जाने पर्यटकलाई मौसमको अबस्था हेरेर पठाउने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्