१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


ढिलोचाँडो प्रधानमन्त्री बन्छु : दाहाल


0
Shares

मंगलबार चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी एकताको विषयमा आज वा भोलि टुंगो लाग्ने बताएका हुन् । पद बाँडफाँटका विषयमा पनि भोलिसम्ममा टुंगो लाग्ने विश्वास उनले व्यक्त गरे ।

भरतपुर महानगरपालिका–९ स्थित शरदपुर माध्यमिक विद्यालयको ४३औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहमा सहभागी हुन आएका अध्यक्ष दाहालले ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने बताए ।

देशको विकासका लागि तीन ठूला दलबीच आपसी समझदारीको खाँचो रहेको बताउँदै उनले तीन दलबीच समझदारी बनाउने काम भइरहेको बताए ।

फरक प्रसंगमा अध्यक्ष दाहालले तत्कालीन समयमा गरिएको बृहत शान्ति–सम्झौताले दूरगामी परिवर्तन ल्याउन सफल भएको बताए ।

नेपालमा भएको शान्ति–सम्झौताले विश्वको ध्यानकेन्द्रित गराउन सफल भएको उनको भनाइ थियो ।

कार्यक्रममा अध्यक्ष दाहालले विद्यालयले निर्माण गरेको शिशुकक्षादेखि कक्षा ५ सम्मको दुईतले ९ कोठे भवनको उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद भूर्तेल, मिलनबाबु श्रेष्ठलगायतले बोलेका थिए । रासस