
बिराज रोस्यारा (इमेज):
कैलाली, फागुन ३ । ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशप्रमुख मोहनराज मल्लले माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मल्लले बिहीबार मध्याह्न १२ बजे भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
प्रदेशप्रमुखले मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत् गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई बुधबार आह्वान गरेका थिए । बुधबारै वाम गठबन्धन सांसदको बहुमत समर्थनसहित भट्टले दाबी पेस गरेका थिए ।
उनी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल प्रदेश नम्बर–७ को पहिलो मुख्यमन्त्री बनेका छन् । उनी डोटीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भट्टले आफू यो क्षेत्रका मुख्य स्रोत कृषि, पर्यटन, वन, जडिबुटी र नदीनालाको उचित परिचालन गरेर रोजगारी सिर्जना गर्न लागिपर्ने बताए ।
उनले जनताको भावनानुसार संघीयता कार्यान्वयन गर्ने आफ्नो प्रमुख दायित्व रहेको बताए ।
मुख्यमन्त्री भट्टले आफ्नो शपथग्रहणका दिन फागुन ५ गते सानो आकारको भएपनि मन्त्रिमन्डल विस्तार गर्ने जानकारी दिए ।
संविधानअनुसार ७ नम्बर प्रदेशका ५३ जना सांसदको २० प्रतिशत अर्थात् ११ जनासम्मको मन्त्रिमन्डल बनाउन पाइने भएपनि एमाले र माओवादीले कम्तीमा सात र बढीमा ९ सदस्यीय सरकार गठन गर्ने तयारी गरिरहेको स्रोतको दाबी छ ।
मुख्यमन्त्री भट्टको शपथग्रहण फागुन ५ गते दिउँसो ३ बजे हुने प्रदेशप्रमुखको कार्यालयका उपसचिव हिरालाल चौधरीले जानकारी दिए ।
प्रदेश नम्बर–७ मा एमालेका २५, माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टी नेपालका २ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्