
जनकपुरधाम, फागुन ३ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरू जितेन्द्रप्रसाद सोनाल एवं विजय यादवले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले उनीहरूलाई जनकपुर चुरोट कारखाना परिसरमा आयोजित एक समारोहमा शपथ खुवाएका हुन् ।
मुख्यमन्त्री राउतले भोजपुरी, मन्त्री सोनालले हिन्दी र मन्त्री यादवले मैथिली भाषामा शपथ लिएका थिए ।
सोनाललाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र यादवलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य राउत संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता तथा पार्टीको उपाध्यक्षसमेत हुन् ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर केन्द्रीय अंग्रेजी विभागबाट स्नातकोत्तर तथा कानुन विषयमा स्नातक गरेका राउतले १० वर्षसम्म ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा उपप्राध्यापक पदमा काम गरेका थिए ।
उनले केही समय वीरगन्ज उपमहानगरपालिकामा अधिकृतकारूपमा पनि काम गरेका थिए ।
पर्सा जिल्लाको जगन्नाथपुर–३ मा २०२३ असार १५ गते जन्मिएका राउतका बुवा दशरथ राउत र आमा राधिका देवी हुन् । उनी हिन्दू तथा मुस्लिम धर्मप्रति समान आस्था राख्ने व्यक्ति हुन् ।
भौतिक पूर्वाधारमन्त्री सोनाल पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुनाका साथै राष्ट्रिय जनता दल नेपालको संसदीय दलको नेता हुन् ।
त्यस्तै, आर्थिकमन्त्री यादव संघीय समाजवादी फोरम नेपालबाट सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ ‘क’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
शपथग्रहण समारोहमा प्रदेशसभा–२ का सभामुख सरोजकुमार यादव, प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगाना, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थिति थियो । रासस
प्रतिक्रिया दिनुहोस्