Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही तीन लाख दिने प्रधानमन्त्रीको घोषणा


0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप छनोट क्रिकेटमा छानिएको नेपाली टोलीलाई नगदसहित सम्मान गर्ने घोषणा गरेका हुन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नामिबियामा भएको विश्व क्रिकेट लिग भिभिजन–२ मा दोस्रो हुँदै विश्वकप छनोटमा छानिएको टोलीलाई भेटेर सम्मान गर्दै ओलीले खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ दिइने घोषणा गरेका छन् ।

ओलीले विश्वकप छनोट खेल्न यही शनिबार जिम्बाब्वे जाने टोलीलाई शुक्रबार बिदाइकाक्रममा उक्त रकम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले व्यक्तिगतरुपमा नेपाली टोलीका खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।

कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले तोकेको समयमा नेपाल क्रिकेट संघ (क्यान)को विवाद मिलाउन नसक्ने हो भने नेपाली क्रिकेट निकै ठूलो संकटमा पर्नेतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

जवाफमा प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटको विवाद छिट्टै समाधान हुने आश्वासन दिँदै खेलाडीहरुलाई निर्धक्क भएर खेल्न आग्रह गरे ।

नेपालले फागुन २० गतेदेखि जिम्बाब्वेमा हुने विश्वकप छनोटमा भाग लिँदैछ ।