१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


शहीदपत्नी पनि मजदूरीमै, फेरिएन मजदूरका दिन


0
Shares

५० वर्षीया डाँगी शहीदपत्नी हुन् । सशस्त्र युद्धका समयमा श्रीमानको हत्या भएपछि डाँगी तीन छोरा र एक छोरीसहित जिल्ला सदरमुकाममा मजदूरी गर्दै आएकी छन् । संघीयताको त कुरै छाडौं, नयाँ संरचनापछि उनलाई आफ्नो वडा कति नम्बरमा पर्छ भन्ने कुरासमेत थाहा छैन ।

‘श्रीमान् शिक्षक हुनुहुन्थ्यो । २० वर्ष पहिले स्कूल गएका श्रीमानलाई पुलिसले मारे भन्ने खबर आयो,’ उनले भनिन्, ‘उहाँको मृत्युपछि सरकारले दिएको राहतले छोराछोरी पढाउँदै आएकी छु ।’

‘आफूले ढुंगामाटोको काम गरेर कमाएको ज्यालाबाट साँझ बिहानको गुजारा चल्छ,’ उनले लामो श्वास लिँदै भनिन् ।

डाँगीलाई आजसम्म पनि प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रका बारेमा केही थाहा छैन । ‘सुन्न त सुनेकी छु, सुनेपनि के काम, मजदूरका दिन कहिले फेरिएलान् ?’ उनको राज्यसँग प्रश्न छ । प्रेम विवाह गरेकी डाँगी बिहेपछि श्रीमानसँग करिब १२ वर्षमात्र सँगै बसेकी हुन् ।

युद्धका नाममा श्रीमानको हत्या नभएको भए आज डाँगीलाई ढुंगामाटोमा दिनरात बिताउनु पर्ने थिएन कि जस्तो लाग्छ ।

आम शिक्षकका परिवार जस्तै उनको परिवारमा पनि श्रीमानको तलबबाट जीविका चल्ने थियो भन्ने उनलाई लाग्छ । पटकपटक चुनावमा प्रचार गर्न जानेले शहीद परिवारलाई गाडी भाडाबिना नै यात्रा गराउने आश्वासन बाँडेको भएपनि त्यो पूरा हुन नसकेपछि उनमा गुनासो रहिरहेको छ ।

‘जे दिवस आए पनि हामीलाई केही फरक पर्दैन, हाम्रा दिन फेरिएनन् । अब त फेरिएलान् जस्तो पनि लाग्दैन,’ उनले भनिन् ।

डाँगीलाई आफ्नोभन्दा अझ बढी छोराछोरीको भविष्यको चिन्ता छ । उनका अनुसार राहतबाट आएको रकमले छोरा काठमाडौँमा पढ्दैछ । ‘जेठी र कान्छी छोरी सानै उमेरमा आफैँ विवाह गरेर गइसके । माइली छोरी मसँगै छे । दुःखसुख गरेर लिबाङको एक विद्यालयमा पढाइरहेकी छु,’ उनले सुनाइन् ।

सन्तानले धेरै पढ्नसके केही गर्लान् कि भन्ने आशा भए पनि छोरीहरु बालविवाह गर्दै जानाले उनलाई बेलाबेला थप निराश बनाउने गरेको छ ।

डाँगीजस्तै परिवर्तन गाउँपालिका– ५, रोल्पाका अनिलकुमार घर्तीले पनि जिल्ला सदरमुकाममा करिब १२ वर्षदेखि ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका छन् । ३९ वर्षीय घर्तीका अनुसार दिनभरि ढुंगामाटोमा पसिना चुहाएमात्र उनको परिवारले साँझ बिहान पेटभरि खान पुग्छ ।

एक दिन बिरामी भए वा काममा अल्छी गरे भोकै बस्नुपर्ने बाध्यता रहेको पनि उनले सुनाए । यसअघि मजदूरीका लागि भारतका विभिन्न स्थानमा लामो समय खर्चिएका घर्तीले २०६२÷०६३ को आन्दोलनपछि नेपालमै मजदूरका दिन फेरिन्छन् भन्ने सुनेर स्वदेश फर्किएका थिए ।

यसरी स्वदेश फर्किएका घर्तीले कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र त कहिले गणतन्त्रको चर्चा चलेको सुन्दै आएका छन् । तर पनि मजदूरका जीवनमा कुनै तन्त्रले पनि सकारात्मक प्रभाव छोड्न नसकेको उनको अनुभव छ ।

आफ्नो जीवनमा उनले इच्छाएको पार्टी र नेता रोज्दै करिब छ÷सात पटक भोट हालिसकेका छन् । ‘मजदूरका लागि न त कुनै तन्त्रले केही ग¥यो न त आफूले जिताएका नेताले नै आफूहरुका बारेमा केही सोचेका छन्,’ उनले दुःखेसो पोखे ।

ढुंगामाटोमै पसिना चुहाउँदै आएका घर्तीले दुई सन्तानलाई सरकारी विद्यालयमा भर्ना गराएका छन् । तर सन्तानका दिन पनि नफेरिएलान् कि भन्ने विषयमा उनलाई हरपल चिन्ता छ ।

यस्तै, रोल्पा नपा–८ का ३८ वर्षीय तेजराम खत्रीले पनि रोजगारीका लागि कतार, मलेशियालगायतका विभिन्न स्थानमा वैदेशिक रोजगारीका शिलशिलामा लामो समय खर्चिसकेका छन् ।

बिहे गरेको केही समयमै बाँकी जीवन सुखसँग बिताउने आश्वासनसहित श्रीमतीलाई घरमै छोडेर रोजगारीका लागि हिँडेका खत्रीको पनि वैदशिक रोजगारीले जीवनमा कुनै किसिमको परिवर्तन ल्याउन सकेन । विदेशमा सोचेअनुरुप कमाइ नभइरहेकै बेला देशमै जनताका दिन फेरिन्छन् भन्ने सुनेपछि उनी पनि स्वदेश फर्किए ।

दशवर्षे सशस्त्र युद्धले उथुलपुथल भएको रोल्पा र रोल्पालीका दिन फेरिने, युवाले रोजगारी पाउने भन्ने खबर पाएपछि उनी निकै उत्सुकताका साथ घर फर्किएका थिए ।

अब रोजगारी पाए परिवार पाल्न सजिलो हुनेछ भन्दै घर फर्किएका खत्रीका पर्खाइमै दिन बितिरहेका छन् ।

उनले पनि सदरमुकाममा ढुंगामाटो गरेर जीविका चलाउँदै आएका छन् । तर बूढेशकालमा काम गर्न नसक्दा पो के गर्ने भन्ने चिन्ताले उनलाई बेलाबेला पिरोल्ने गर्छ ।

‘अरु केही नभए पनि सरकारले मजदूरका छोराछोरीलाई निःशुल्क उच्च शिक्षा दिनसके पनि ठूलो राहत हुने थियो,’ उनी भन्छन् ।

यसैगरी, साविकको पाछाबाङ गाविस–६, रोल्पाका शर्मिला बूढा हाल ३५ वर्षकी छिन् । उनले पनि जिल्लामा लामो समयदेखि ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएकी छन् । ‘आठ÷नौ वर्षदेखि वैदेशिक रोजगारीमा पुगेका श्रीमानको कमाइ ऋण तिर्दैमा ठिक्क छ । अझै तीन वर्ष आउनुहुन्न होला,’ उनले भनिन् ।

आफूले कमाएको कमाइ घरखर्चमै तथा श्रीमानको तलब ऋण तिर्नमै ठिक्क भएपछि उनको जीवनमा नयाँ प्रगति हुन सकिरहेको छैन । देशमा विभिन्न राजनीतिक उतारचढाव आइरहे पनि मजदूरका भविष्यका बारेमा कसैले पनि नसोच्दा दिक्क लाग्ने गरेको उनले बताइन् ।

श्रम गरेअनुसार जीवनमा परिवर्तन नआउँदा दुःख लाग्ने गरेको उनले बताइन् ।

सबैजसो मजदूरले आफ्नोभन्दा पनि आफ्ना छोराछोरीको भविष्यको चिन्ता गरेका छन् । यसतर्फ समयमै सरोकारवालाको ध्यान जानुपर्नेमा मजदूरको सुझाव छ । (रासस)