२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


इलाममा अढाई लाखभन्दा बढीलाई हात्तीपाइले रोगविरुद्वको औषधी खुवाउने लक्ष्य


0
Shares

शनिबारबाट सुरु भएको औषधी खुवाउने अभियानअन्तर्गत सोमबारसम्ममा दुई लाख ६६ हजार ८६३ जनालाई यो रोगविरुद्धको औषधी खुवाइने भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार जिल्लामा दुई वर्षदेखि ७० वर्ष उमेर सम्मका ब्यक्तिलाई यो औषधी खुवाइनेछ । सरकारले हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्यसहित हरेक वर्ष अभियानकै रुपमा यो रोगको औषधी खुवाउँदै आएको छ ।

जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर बिमल बरालका अनुसार त्यो उमेर समूहका मानिस इलाममा दुई लाख ६६ हजारभन्दा बढी छन् । बरालले यसवर्ष सबै सम्भव नभए पनि लक्षित संख्याको ९५ प्रतिशतलाई औषधी खुवाइने बताए ।

गतवर्ष यो उमेर समूहका ८९ प्रतिशतले औषधी खाएका थिए । लक्षित उमेर समूहका मानिसमध्ये गर्भवती, सात दिनसम्मका सुत्केरी, कुपोषित बालबालिका, कडा रोगका बिरामी र ओछ्यान परेका बिरामीलाई यो औषधी नखुवाइने पनि बरालले बताए ।

इलामका १० वटा स्थानीय तहका ८१ वडामा यसवर्ष हात्तीपाइलेको औषधी खुवाउन एक हजार नौ सय ४४ वटा केन्द्र तोकिएको र ती केन्द्रहरूमा एक–एकजना स्वयमसेवक खटाइएको छ । त्यस्ता स्वयमसेवकमा महिला स्वास्थ्य स्वयमसेविका र गतवर्षहरूमा यो औषधी खुवाउन खटिएका तथा तालिम लिइसकेका शिक्षक–शिक्षिकालाई खटाइएको छ ।

यो रोगको संक्रमण भएमा हातगोडा सुनिने, पुरुषको अण्डकोष सुनिने, महिलाको योनांगमा समस्या आउने लगायतका लक्षण देखा पर्ने चिकित्सक बताउँछन् ।