
जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनि उच्च अदालतमा निवेदन दिने तयारीमा लागेका हुन् । उनका पक्षमा वकालत गर्ने कानुन व्यवसायी निवेदन दर्ता गर्ने तयारीमा जुटेका छन् ।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई जिल्ला कारागार शाखा कैलालीमा राखिएको छ । प्रतिवादीका तर्फका अधिवक्ता गंगाराम पाध्याले अदालती बन्दोबस्तको १७ नम्बरको प्रयोग गरेर आदेश बदर गरी तारेखमा राखीपाउ भन्दै निवेदन गर्न सकिने भएकाले सो तयारीमा लागेको बताए ।
‘न्यायिक छानविनका लागि अहिले अदालती बन्दोबस्तको १७ नम्बर प्रयोग गरेर उच्च अदालत जानका लागि कानुन व्यवसायीसँग छलफल गरिरहेको छु’ रेशमले भने, ‘त्यसपछि सर्वोच्चसम्म पुग्छु ।’
आफु अदालतको सम्मान गर्नका लागि सार्वजनिक भएको चौधरीले बताए । उनले भने, ‘तर यहाँ कानुनी षडयन्त्र भइरहेको छ ।’
अदालती बन्दोबस्तको ११८ को देहाय २ बमोजिम रेशमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो । उनी आफूमाथि लगाईएका आरोपको प्रतिवाद गर्दै निवेदनसहित सोमबार बिहान ११ बजेर १४ मिनेटमा कैलाली जिल्ला अदालतमा हाजिर भएका थिए । अदालतका डिठ्ठा रामप्रसाद कम्तीले करीव दुई घण्टासम्म रेशमसँग बयान लिएका थिए । बयान सकिएपछि वादी र प्रतिवादी कानुन व्यवसायीहरुका बीचमा बहस भएको थियो ।
सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रकाश बहादुर भण्डारी, सहायक न्यायधिवक्ताद्वय भानदेव जोशी, नविन भट्टले बहस गरेका थिए । जाहेरीवालाका तर्फबाट बरिष्ठ अधिवक्ता राजेन्द्र बहादुर साउदले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट अधिवक्ता गंगाराम पाध्या, मिलन कुमार राई, गजेन्द्र बहादुर केसी र नाथुराम महतोले बहस गरेका थिए ।
प्रतिवादमा अधिवक्ता गंगाराम पाध्या, मिलन कुमार राई, गजेन्द्र बहादुर केसी र नाथुराम महतोले चौधरी निर्दोष रहेको भन्दै उनको बचाउ गरेका थिए । अन्त्यमा जाहेरवालाका तर्फबाट बरिष्ठ अधिवक्ता राजेन्द्र साउदले रेशम चौधरीकै नेतृत्वमा टीकापुर घटना भएको र प्राप्त प्रमाणका आधारमा उनी दोषी रहेको दावी गर्दै कडा सजाय सुनाउन ईजलास समक्ष आग्रह गरेका थिए ।
वादी र प्रतिवादी दुबै पक्षको दलिल र जिकिर सुनेपछि जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले उनलाई थुनामा राख्ने आदेश दिएको थियो ।
कारागारमा भेट्न आउनेको लर्को
करिव ३० महिनापछि सार्वजनिक भएका रेशमलाल चौधरीलाई भेट्न आउनेहरुको जिल्ला कारगार शाखा कैलालीमा लर्को नै लागेको छ । टीकापुर घटनापछि उनी सार्वजनिक भएका थिएनन् ।
जिल्ला कारागार शाखा कैलालीका सुरक्षागार्डहरुले रेशमलाई भेट्न आउनेका लागि छुट्टै दर्ता रजिष्टरको ब्यवस्था गरेका छन् । जिल्ला कारागार शाखा कैलालीका प्रमुख भक्तबहादुर बिष्टका अनुसार मंगलबारमात्रै १५० भन्दा बाढीले उनलाई भेटेका छन् ।
कैदी नं ४ कोठामा के गर्दै छन् रेशम ?
टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई जिल्ला कारगार शाखा कैलालीको कैदी नं ४ कोठामा राखिएको छ । उनलाई सामान्य कैदीसरह नै राखिएको छ ।
‘जिल्ला कारागार शाखाले सहयोग नै गरेको छ,’ कारागारमा रहेका रेशमले भने, ‘मैले नै सामान्य कैदीसरह बस्ने कुरा गरेको हुँ ।’
उनले कारागार र प्रशासनबाट सहयोग नै भएको बताए । ‘कारागारको आफ्नै नियम हुँदो रहेछ,’ उनले भने, ‘शौचालय जाने, पानी प्रयोग गर्नेदेखि सबै कुरामा भित्रको नै नियम रहेछ ।’
उनले कारागारमा बस्दा भित्रका नियम पालना गरेको बताए । ‘मेरालागि अकल्पनीय निर्णय भयो र बेलुकी कारागारमा राखियो, बिहानै उठेँ,’ उनले भने, ‘कारगारको नियमअनुसार पालो कुरेर नित्यकर्म गरेँ । केही छिनपछि साथीभाईहरु भेट्न आउन थाले, भेटघाट र परामर्शमै ब्यस्त छु ।’
रेशम र लक्ष्मण थारुबीच कुराकानी
टीकापुर घटनाका आरोपी लक्ष्मण थारु र रेशमलाल चौधरीबीच मंगलबार बिहान कारागारभित्रै एक घण्टा कुराकानी भएको छ । जिल्ला कारागारभित्र छुट्टाछुट्टै कोठामा राखिएका उनीहरुले आपसमा भेटका लागि कारागार प्रशासनसँग आग्रह गरेपछि भेट तथा कुराकानी गर्न दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । उनले भने, ‘उनीहरुको आग्रह अनुसार भेट गर्न दिईएको हो ।’
‘साथीसँग लामो समयपछि भेट भयो, भलाकुसारी भयो,’ ‘रेशमले भने, ‘जनताको मतले अनुमोदन भएको ब्यक्तिलाई कारागार पठाएको कुरामा लक्ष्मणजीले चिन्ता ब्यक्त गर्नुभयो ।’
३० महिनादेखि पूर्पक्षका लागि कारागारमा रहेका लक्ष्मण थारुले निर्दोष थारुहरु जेलमा रहेको बिषयमा गम्भीर छलफल भएको बताए । उनले भने, ‘अब भावी दिनमा थारु आन्दोलनलाई कसरी लैजाने भन्ने बारेमा छलफल भयो ।’
प्रमाणपत्र पाउनुपर्ने रेशमको माग
कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमले आफुलाई निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराउन माग गरेका छन् । उनले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र पाउँ भनि मंगलबार कारागार प्रशासनलाई निवेदन गरेका थिए । निवेदन जिल्ला प्रशासन कार्यालय कैलालीले क्षेत्रीय निर्वाचन कार्यालय कैलालीमा पठाएको थियो ।
‘हामीलाई प्रमाणपत्र पाउँ भनेर निवेदन आएको थियो,’ कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘उक्त निवेदनलाई हामीले क्षेत्रीय निर्वाचन कार्यालय धनगढीमा पठाई दिएका छौं ।’ क्षेत्रीय निर्वाचन कार्यालयले रेशमको प्रमाणपत्रको फोटोकपी जिल्ला प्रशासनमा पठाएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालले सक्कली प्रमाणपत्र निर्वाचन आयोगमा पठाई सकेकाले जिल्ला प्रशासन कार्यालयलाई फोटोकपी पठाएको बताएका छन् ।
उनले प्रशासन कार्यालयबाट प्रमाणपत्रको फोटोकपी निर्वाचन कार्यालयमै फिर्ता आएको बताए ।
रेशमले आफु सार्वजनिक भइसकेको अवस्थामा प्रमाणपत्र दिनुपर्ने माग राखेका छन् ।
फरार रहेकै बेला २०७४ मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली जिल्लाको क्षेत्र नं १ बाट राजपाका तर्फबाट वारेसनामा मार्फत उम्मेदवारी दर्ता गरेका रेशम भारी मतान्तरले निर्वाचित भएका सांसद पनि हुन् । चौधरी ३४ हजार तीन सय ४१ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले १३ हजार चार सय ६ मतमात्र प्राप्त गरेकी थिइन् ।
२०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, नेपाल प्रहरी निरीक्षकद्वय बलराम बिष्ट, केशव बोहरा, प्रहरी जवान लक्ष्मण खड्का, लोकेन्द्र चन्द, सशस्त्र प्रहरी हवल्दार राम बिहारी चौधरी, ललित साउद र स्थानीय नेत्र बहादुर साउदका २ बर्षीय छोरा टेकबहादुर साउदको मृत्यु भएको थियो ।
उक्त घटनामा संलग्न भएको आरोपमा २८ जनालाई कर्तब्य ज्यानको मुद्दा चलाईएको छ ।
प्रतिक्रिया दिनुहोस्