
काठमाडौं, मंसिर १५ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकान्डको दोषी पत्ता लगाउन माग गर्दै शनिबार काठमाडौंको माइतीघर मन्डलामा विरोध प्रदर्शन गरिएको छ ।
निर्मलाको हत्या भएको चार महिना बितिसक्दासमेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै र्यालीका सहभागीहरुले सरकारको चर्को आलोचना गरेका थिए ।
‘सरकार भेटियो, न्याय भेटिएन’जस्ता प्लेकार्ड बोकेका उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
नागरिक समाजको अगुवाइमा निकालिएको र्याली माइतीघरबाट नयाँबानेश्वर पुगी समापन भएको थियो ।
निर्मला हत्याकान्डको दोषी पत्ता लगाउन विभिन्न समिति गठन गरिएपनि दोषी पत्ता लाग्न सकेको छैन ।
हत्याकान्डको छानबिनमा लापरबाही गरेको भन्दै कन्चनपुरका तत्कालीन उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई सेवाबाट बर्खास्त गरिएको छ भने अन्य ६ जना प्रहरी निलम्बनमा परेका छन् ।
गत साउन १० गते साथीको घरमा पढ्न गएकी निर्मला दोस्रो दिन स्थानीय उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्