
काम रोकिँदा पहिले भत्काईएका संरचना यत्रतत्र छरिएको छ भने सडक कतै धुलाम्मे त कतै हिलाम्मे हुँदा स्थानीय मर्कामा परेका छन् ।
झापाको बिर्तामोड नगरभित्रका सडकलाई फराकिलो बनाउन केही महिना अघि तामझाम कै साथ अभियान सुरु भयो । अभियान सुरु हुँदा अब नगर भित्रको सडक फराकिलो होला र सहज रुपमा यात्रा तथा व्यवसाय गर्न पाईएला भन्ने सोचेका स्थानीय अहिले बीचमा नै काम रोकिँदा अचम्ममा परेका छन् ।
सडक डिभिजन कार्यालय दमकको पहल तथा बिर्तामोड नगरपालिकाको अग्रसरतामा पुसको पहिलो साता बिर्तामोडको मुक्तिचोकदेखि चारैतर्फका सडक खाली गराउन थालिएको थियो । वर्षौंदेखि सडक मिचेर राखिएका फुटपाथ पसल हटाउन केही दिन डोजरसमेत चलाइयो ।
पूर्वपश्चिम राजमार्ग र भद्रपुर रोड तथा शनिश्चरे रोडको १५ मिटर दायाँबायाँ निर्माण भएका संरचना भत्काउने सहमति भएको थियो । तर, भद्रपुर रोडको सडक बिस्तार गर्दागर्दै अभियान एक्कासी रोकिएपछि स्थानीय मर्कामा परेका छन् ।
सडक बिस्तार कार्य रोकिएको महिना दिन बितिसक्दा समेत नगरपालिकाले काम थालेको छैन भने पहिले भत्काईएका ढल र खानेपानीका पाईपलाई पनि व्यवस्थित गर्न सकेको छैन । बिर्तामोड नगरपालिका वडा नम्बर ३ का वाडाध्यक्ष भोजराज सिटौला भने चाँडो समाधानको उपाय खोजिरहेको बताउँछन् ।
सडक अतिक्रमण हटाउँदा डोजरले ढल समेत भत्काएको थियो । अहिले त्यहाँबाट दुर्गन्ध आउन थालेको छ । सडक बिस्तार गर्ने भन्दै केही दिनसम्म डोजर चलाइँदा भद्रपुर रोडमा खानेपानीका पाइप काटिएका छन् भने पाइप फुटेकाले अहिले सडकमा पानी बगिरहेको छ ।
पाइप फुटेकाले खानेपानीमै ढल मिसिएको छ । पूर्वको व्यापारिक केन्द्रका रुपमा रहेको बिर्तामोडको केन्द्रकै यस्तो हविगत हुनु दुःखद् कुरा हो । यस विषयमा सम्बन्धित निकायको चाँडो ध्यान जानु जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्