२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पुलिस क्लब झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश


0
Shares

आइतबार सम्पन्न खेलमा पुलिसले रुपन्देही–११ लाई १–० गोलअन्तरले पाखा लगाएको हो ।

खेलको ८१औं मिनेटमा रेजिन सुब्बाले गरेको एकमात्र गोलको मद्दतमा पुलिसले क्वार्टरफाइनलको यात्रा निश्चित गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलको सुरुवातदेखि नै पुलिस आक्रामक बन्यो । तर, पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा पुलिसले कयौं मौका गुमाएको थियो ।

पहिलो हाफभर पुलिसका खेलाडी मैदानमा हावी देखिन्थे । यद्यपि, पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो ।

गोलको खाता खोल्नका लागि पुलिसले दोस्रो हाफको ३६औं मिनेटसम्म संघर्ष गर्नुपरेको थियो । रेजिनले सुमन लामाको क्रसमा सुन्दर गोल गर्दै पुलिसका लागि जित दिलाएका हुन् ।

दोस्रो हाफमा रुपन्देही लयमा फर्किएको थियो । यद्यपि, गोलका केही अवसर सिर्जना गरे पनि उसले गोल भने गर्न सकेन ।

खेलमा पुलिसका रवि पासवानले ४ वटा सुन्दर अवसर खेर फाले । खेल अवधिभर रुपन्देहीले पाएका ३ वटा अवसर गुमाएको थियो । पुलिसको डिफेन्स बलियो हुँदा रुपन्देहीले गोलका अवसर सिर्जना गर्न सकेन ।

खेलको म्यान अफ द म्याच पुलिसका खेलाडी सुमन लामा घोषित भए । उनले ओली एण्ड एसोसिएट्सका तर्फबाट नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा थ्रीस्टार क्लब र विभागीय टोली एपीएफ भिड्नेछन् ।

१२ लाख ५१ हजार रुपैयाँ प्रथम पुरस्कार रहेको प्रतियोगिताको उपविजेता टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।