प्रतिनिधिसभाको मंगथलबारको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली जनताको बुद्धिमानीपूर्ण निर्णयका आधारमा वामशक्तिले जनमत हासिल गरेकाले देश निर्माणको जिम्मेवारी प्राप्त भएको र वर्तमान सरकारले जनताका पक्षमा महत्वपूर्ण कार्यभार पूरा गर्ने दृढता व्यक्त गरे ।
नेपालभित्रै केही शक्तिले वामपन्थी अधिनायकवादी हुन्छन् भनेर गलत प्रचार गरेको टिप्पणी गर्दै नेता नेपालले भने–‘वामपन्थी जनताको भावनामा विश्वास गर्छन्, कसैले चिन्ता नगरे हुन्छ । वामपन्थीले अधिनायकवादको बाटो समात्दैनन् । लोकतन्त्र खुम्चिन्छ कि, राज्यका निकायलाई अनावश्यक राजनीतिकरण गर्छन् कि भन्ने चिन्ता गर्नु आवश्यक छैन ।’
उनले देशलाई आर्थिक–सामाजिक रुपान्तरणको दिशामा अगाडि बढाउँदै बेरोजगारीको अन्त्य गरी एकाध वर्षभित्र देशलाई समृद्धिको उच्च विन्दुमा पुर्याउनसकिने बताए ।
नेता नेपालले जित्नेले अहंकार र हार्नेले काम गर्नै नदिने वातावरण बनाउन नहुने धारणा तथा सत्ता र प्रतिपक्ष हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै भने–‘प्रतिपक्ष वेटिङ गभर्मेन्ट हो । सुरुदेखि नै विरोध गर्ने र काम गर्न दिन्नँ भन्ने प्रवृत्ति सबैले त्याग्नुपर्छ । लडाइँ, झगडा र द्वन्द्वको युग सकिएर शान्तिपूर्ण तवरले विकासको युगमा मुलुक प्रवेश गरेको छ ।’
पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारले नेपाली जनतालाई सुशासन र न्यायको अनुभूति दिने तथा नेपालको उत्पादकत्वको विकास गर्न सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।
नेता नेपालले भने–‘छिट्टै केपी ओली नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्नेछ । मुलुक अगाडि बढ्ने सिंगो खाका पाउनेछ ।’
सबैको बुद्धिमानी र सुझबुझपूर्ण कार्यका कारण संविधानसभा नेपालमा सफल भएको र तोकिएको समयमा संविधान लेखन सम्पन्न भएर कार्यान्वयनको चरणमा प्रवेश गरेको बताउँदै नेपालको संविधानले सबै पक्षलाई समेट्ने प्रयास गरेको तथा पिछडिएको क्षेत्र र समुदायलाई राज्यको मूलप्रवाहमा ल्याएको उल्लेख गरे ।
भ्रष्टाचारको जालोले विकास निर्माणको काम रोकिने गरेको दृष्टान्त पेस गर्दै उनले आर्थिक विकासको प्रमुख आधारकारुपमा रहेको भौतिक विकासलाई एकीकृतरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । रासस









प्रतिक्रिया दिनुहोस्