दीपक श्रेष्ठ र ध्रुव भट्टराई (इमेज)
विराटनगर, मंसिर १३ । पछिल्लो समयमा बिनापूर्वाधार नगरपालिका घोषणा गर्ने लहर नै चल्यो । देश संघीयतामा गएपछि महानगरपालिकाको संख्या पनि बढ्यो ।
तर, महानगरपालिकामा हुनुपर्ने न्यूनतम् सुविधा र भौतिक पूर्वाधार नहुँदा महानगरपालिकाका नागरिक हर्ष न विस्मात्मा छन् । यस्तै अवस्था छ, विराटनगर महानगरपालिकाको ।
सांस्कृतिक, ऐतिहासिक र आर्थिकरुपमा निकै चर्चित विराटनगर सहर अहिले अस्तव्यस्त छ । बजार क्षेत्रको बाटोको ठाउँठाउँमा फोहर पानी जमेको देख्न सकिन्छ ।
विराटनगर महानगरपालिकाले फोहर संकलन गर्न ठाउँ–ठाउँमा डस्टबिन राखेपनि डस्टबिन एकातिर ढलेको छ भने फोहर बाहिर यत्रतत्र छरिएको छ ।
सडकपेटी अव्यवस्थित भएका कारण पैदल हिँड्ने बटुवाहरु सडकबाट हिँड्न बाध्य देखिन्छन् । पैदलयात्री हिँड्ने सडकपेटी र ढल छोप्न राखिएको ढक्कन एकै भएकाले ती अव्यवस्थित हुँदा यात्रीहरु ढलभित्र खस्ने पनि गरेका छन् ।
काठमाडौंमा यस्तै ढलका ढक्कनहरु नहुँदा दुर्घटना भएर ज्यान गुमाएको समाचार ताजै छ ।
जनताका यस्ता समस्या लिएर गयो भने जनप्रतिनिधिसँग सधैं बनिबनाउ जवाफ हुन्छ ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले हामी उनको कार्यालय पुग्दा त्यस्तै तयारी जवाफ दिए ।
हुन त कोसी राजमार्ग विस्तारको अवस्थामा रहेकाले पनि विराटनगर बजारक्षेत्र र सडकको अवस्था अस्तव्यस्त भएको हो ।
तर, विकास निर्माणको काम गर्दा जनतालाई कमभन्दा कम अप्ठ्यारो हुने गरी गर्नुपर्नेमा त्यतातर्फ भने ध्यान दिएको पाइँदैन ।
प्रदेश नम्बर–१ को अस्थायी राजधानी पनि भएकाले विराटनगरले सबैको ध्यान आकृष्ट गर्छ ।
अहिले देशैभरि सडक विस्तारको लहर आएकाले सडकको समस्या त बुझ्न सकिन्छ । तर, फोहर व्यवस्थापन, बजार व्यवस्थापन, हरियाली, खुलाक्षेत्र व्यवस्थापनलगायतका विषयमा काम गर्न भने सडक विस्तारले छेक्दैन ।
तरपनि वार्षिक योजनामा ठूला–ठूला विषय राखेका महानगरपालिकाहरु यस्ता साना–साना विषयमा चुक्दा जनताले परिवर्तित राजनीतिक व्यवस्थालाई नै दोष लगाउने गरेका छन् ।
महानगरपालिका घरदैलोको सरकार भएकाले यसको काम गराइले समग्र सरकारकोसमेत मूल्यांकन हुने गरेको छ ।








प्रतिक्रिया दिनुहोस्