२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


के गर्दैछन् पार्टी एकताका लागि गठित कार्यदल ? (भिडियो)


0
Shares

तर, यो अवधिमा मस्यौदा तयार हुन नसकेपछि दुवै कार्यदलको म्याद बढीमा ७ दिन थप्ने तयारी भएको छ ।

दुई ठूला वाम दल एमाले र माओवादी केन्द्र पार्टी एकता संयोजक समितिले फागुन १० गते एकीकृत पार्टीको विधान र संगठनात्मक कार्यदल तथा राजनीतिक कार्यदल गठन गरेर प्रतिवेदन तयार पार्न १५ दिनको समयसीमा दिएको थियो ।

तर, दुवै कार्यदलले १५ दिनको समयसीमाभित्र कार्यादेशअनुसार काम सम्पन्न गर्न नसकेपछि दुवै कार्यदलको म्याद थपका लागि शुक्रबार प्रस्ताव गर्ने तयारी गरेका छन् ।

दुवै कार्यदलका सदस्यहरुले कार्यदल गठनपछि पार्टी एकताभन्दा बाहिरका विषयले समय लिएकाले समयमै प्रतिवेदन बुझाउन नसकिएको बताएका छन् ।

प्रतिवेदन मस्यौदा कार्यदलले विश्व कम्युनिष्ट आन्दोलन, नेपालको कम्युनिष्ट आन्दोलन, दुवै पार्टीका मिल्ने विषय र नमिलेका विषयलाई महाधिवेशनसम्म लैजानेलगायतका विषयलाई अध्ययन गरेर मस्यौदामा समेट्ने काम गरिरहेको छ ।

प्रतिवेदन मस्यौदा कार्यदलका सदस्य देवेन्द्र पौडेलले कार्यादेशअनुसार ८० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए ।

यस्तै, विधान मस्यौदा कार्यदल पनि निरन्तर छलफलमा रहेपनि काम सम्पन्न गर्न सकेको छैन ।

मस्यौदा लेखनको काम करिब–करिब टुंगो लगाइसकेको र केही विषयमा थप छलफल आवश्यक रहेकाले काम सम्पन्न गर्न अझै एक साता लाग्ने विधान मस्यौदा कार्यदलका सदस्यहरुले जानकारी दिएका छन् ।

प्रतिवेदन मस्यौदा समितिका सदस्य देवेन्द्र पौडेलले संगठन र विधान एक–अर्काका परिपूरक विषय भएकाले दुई कार्यदलबीच संयुक्त छलफलपछि प्रतिवेदनलाई अन्तिम रुप दिने जानकारी दिए ।

दुई पार्टीको एकता प्रक्रिया अघि बढाउन कार्यदलमा उपसमति बनाएर जिम्मेवारी बाँडफाट गरी काम भइरहेको छ ।

दुवै कार्यदलले एकता संयोजक समितिलाई अन्तिम प्रतिवेदन बुझाइसकेपछि एकता संयोजक समिति र शीर्ष नेतृत्व तहले अन्तिम रुप दिनेछ ।

कार्यदलमा टुंगो लाग्न बाँकी विषयहरुलाई भने एकता महाधिवेशनबाट टुंगो लगाइने दुई पार्टीबीच यसअघि नै सहमति भइसकेको छ ।

भिडियो हेर्नुहोस्