
गृष्मा राजभण्डारी (इमेज)
काठमाडौं, मंसिर १२ । यही मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुने ‘एसिया प्यासिफिक सम्मेलन’को तयारी लगभग पूरा भएको छ ।
युनिभर्सल पिस फेडेरेसनको आयोजनामा हुन लागेको सम्मेलन वर्तमान समयका चुनौतीहरुमाथि सम्बोधन गर्दै आत्मनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य–मान्यताको विषयमा केन्द्रित हुनेछ ।
युनिभर्सल पिस फेडेरेसनले सरकार, नागरिक समाज, निजी क्षेत्रका प्रतिनिधिको सहकार्यमा विश्वस्तरमा अन्तर्राष्ट्रिय सम्मेलनहरु शृंखलाबद्धरुपमा गर्दै आएको छ ।
यही शृंखलालाई निरन्तरता दिँदै काठमाडौंमा पनि यो सम्मेलन आयोजना हुन लागेको हो ।
वर्तमान समयका चुनौतीहरुलाई प्रभावकारीरुपमा सम्बोधन गर्न र समाधान गर्न सघाउने विश्वासका साथ सम्मेलन हुन लागेको युनिभर्सल पिस फेडेरेसनका नेपाल च्याप्टरका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए ।
सम्मेलनमा म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सूचीलगायत ७ राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख, १० जना पूर्वराष्ट्र र सरकार प्रमुख गरी ४५ राष्ट्रका १५ सय प्रतिनिधिको सहभागिता रहनेछ ।
सम्मेलन युनिभर्सल पिस फेडरेसन र अन्य राष्ट्रहरुको आर्थिक सहयोगमा हुन लागेको हो ।
सम्मेलनको मुख्य एजेन्डा गरिबी, आतंकवाद, खाद्य सुरक्षा, जलवायु परिवर्तन रहनेछ ।
सम्मेलनको सहआयोजक नेपाल हुने भनिएपनि पछि विवाद बढेपछि सरकार पछि हटेको थियो ।
चारदिने सम्मेलनको उद्घाटन आगामी शनिबार हायात होटलमा हुनेछ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ । सरसफाइ, रङरोगनलगायतका कामहरु भइरहेका छन् ।
सम्मेलन अवधिभर ट्राफिक व्यवस्थापन सहज बनाउन जोर–बिजोर प्रणाली लागू गरिएको छ ।
विशिष्ठ पाहुनाहरुको ठूलो जमघट हुने सम्मेलनमा सुरक्षा व्यवस्था चुस्त बनाउने तयारी भइरहेको छ ।
पाहुनाहरुलाई काठमाडौंका हायात होटल, द्वारिका, सोल्टी र याक एन्ड यति होटलमा राख्ने प्रबन्ध मिलाइएको छ ।
काठमाडौं घोषणापत्र जारी गरी सम्पन्न हुने सम्मेलनबाट नेपालको पर्यटन प्रवर्धन, शान्ति र विकासका लागि विविध आयामहरुमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्