काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरु’ शुभारम्भ हुँदैछ ।
सरकारले निकै तामझामका साथ घोषणा गर्न लागेको उक्त कार्यक्रमको प्रचारप्रचारका लागि विज्ञापनमा मात्र करोडौं रकम खर्च गरिएको छ । मंगलबार राजधानीबाट प्रकाशित अधिकांश पत्रिकामा ‘ज्याकेट पेज’ विज्ञापन प्रकाशित गरी सो कार्यक्रमको प्रचार गरिएको छ भने राजधानीका सडक किनारमा पनि प्रधानमन्त्री ओलीको तस्वीरसहितको प्रचारसामग्री झुण्ड्याइएको छ ।
यतिठूलो तामझामका साथ सुरु गर्न लागिएको कार्यक्रममको निमन्त्रणा पत्रमा भने गम्भीर त्रुटी पाइएको छ ।
कार्यक्रममा सहभागिताका लागि सामाजिक सुरक्षा कोष सञ्चालक समितिका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालका तर्फबाट प्रेषित निमन्त्रणापत्रमा कार्यक्रमको मिति २०७५ मंसिर ११ गते मंगलबार, सयम बिहान ११ः३० बजे उल्लेख छ ।
तर निमन्त्रणापत्रको पुछारमा ‘द्रष्टव्य’मार्फत आगन्तुकलाई १२ः१५ भित्र तोकिएको स्थानमा आसन ग्रहण गरिसक्न अनुरोध गरिएको छ । ११ः३० मा सुरु हुने कार्यक्रमका लागि १२ः१५ भित्र आसन ग्रहण गर्न आग्रह गरिनु आफैंमा अनौठोमात्र होइन, यति महत्वको कार्यक्रमका बारेमा सरकारी अधिकारीहरु कति गम्भीर रुपमा लागेका छन् भन्ने बुझ्ने मौका पनि भएको छ ।









प्रतिक्रिया दिनुहोस्