
नविन सिंह/ईमेज:
जनकपुर । यही मंसिर २६ गते विवाहपञ्चमीका दिन जनकपुरधाममा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने विषय विवादित बनेको छ ।
एकातिर जनकपुरधाममा आदित्यनाथको स्वागत र सम्मानका लागि व्यापक तयारी भइरहेको छ भने अर्कोतर्फ प्रदेश र केन्द्रीय सरकारले यो विषयमा आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन् । यसले मुख्यमन्त्री आदित्यनाथको हुने भनिएको भ्रमण नै विवादित बनेको छ ।
विवाहपञ्चमीका दिन जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवका बेला हरेक वर्ष भव्य मेला लाग्ने गर्दछ ।
केही दिनअघि विवाहपञ्चमीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह जन्ती बनेर आउने चर्चा चले पनि पछि विभिन्न कारणले सोे कुरा स्थगित भएको थियो ।
अहिले सो अवसरमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने चर्चा चलिरहेको छ ।
त्यसका लागि आदित्यनाथको स्वागत र सम्मानका लागि भित्रभित्रै तयारी चलिरहेको छ । मन्दिरको रंगरोगन गर्नेदेखि वरपर सरसफाइको काम तीव्रताका साथ चलिरहेको छ ।
तर, प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुुन मन्त्री ज्ञानेन्द्र यादवले रामजानकी विवाह महोत्सवमा मुख्यमन्त्री आदित्यनाथ जनकपुरधाम आउने नआउने विषयमा सरकार जानकार नरहेको बताएपछि यो विषय विवादित जस्तै बनेको छ । तर पनि प्रदेश सरकारले तयारी भने जारी राखेको मन्त्री ज्ञानेन्द्र यादवको भनाइ छ ।
यता, संघीय सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले पनि यो विषयमा कुनै जानकारी नरहेको स्पष्ट पारेका छन् ।
अर्कोतिर भारतीय सञ्चारमाध्यमले पनि आदित्यनाथको जनकपुरधाम आउने विषयको चर्चा गरिरहेका छन् ।
प्रदेश र संघीय सरकारलाई सूचना नगरि विशिष्ट विदेशी पाहुना आउने विषय प्रायः असम्भव हुन्छ । तर भित्रभित्रै तयारी तिव्र रुपमा भइरहनुले विभिन्न आशंका जन्माएको छ ।
प्रतिक्रिया दिनुहोस्