चितवन, मंसिर १० । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तका बाबु–आमाको अवस्था बिग्रँदै जानुमा प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको आरोप लगाएका छन् ।
सोमबार नेपाल महिला संघ चितवनले नारायणगढमा आयोजना गरेको कार्यक्रममा नेता थापाले प्रधानमन्त्रीको गैरजिम्मेवारीपन, असंवेदनशीलता र अमानवीयताका कारण निर्मलाका बाबु–आमाले आत्मसम्मान र विश्वास गुमाएको टिप्पणी गरे ।
उनले सरकार र नेकपाका नेताहरुले नै बलात्कारीलाई संरक्षण दिएको आरोपसमेत लगाए ।
पीडित परिवारलाई छिट्टोभन्दा छिट्टो न्याय दिन उनले आग्रह गरे । सरकार यस्ता घटनामा गम्भीर नभएकाले घटना बढ्दै गएको उनको भनाइ थियो ।
नेता थापाले निर्मला पन्तको घटना एउटा प्रतिनिधिमूलक भएको भन्दै १६ दिने महिला हिंसाविरुद्धको अभियानमा यस विषयलाई मुख्यरुपमा उठाउन महिला संघलाई आग्रह पनि गरे ।
‘यो सरकारले संघीयता चलाउन सक्दैन’
यस्तै, दुईतिहाइ बहुमतको वर्तमान सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई हाँक्न नसक्ने ठोकुवासमेत उनले गरे ।
‘यो सरकारले संघीयता चलाउन सक्दैन । कर्मचारीलाई मिलाउन पनि जान्दैन । जहिल्यै कर्मचारीलाई सराप्दैमात्रै बस्छ’–उनले भने ।
वर्तमान सरकारले ‘ठूलो भारी’ बोकेकाले राम्रो काम गर्न नसक्ने जिकिर उनले गरे ।
उनले भने–‘सरकारले ठूलो भारी बोकेको छ । तर, हिँड्ने क्षमता छैन । यसले संघीय देश चलाउन सक्दैन ।’
सरकारले काम गर्न सक्दैन भनेर कांग्रेसका नेताहरुले बोल्नै नपर्ने भन्दै उनले नेकपा नेताहरु नै काफी रहेको टिप्पणी गरे ।
‘यो सरकारले काम गर्न सक्दैन’–उनले भने–‘चुनाव जित्नैका लागि यो वाम गठबन्धन बनेको हो । यो लोभीपापीहरुको गठबन्धन हो ।’
नेता थापाले देश दौडाहाकाक्रममा कांग्रेस नेता तथा कार्यकर्ताहरुमा निर्वाचनमा व्यहोरेको पराजयका कारण नैराश्यता छाएको पाएको भन्दै एउटा चुनाव हार्दैमा निराश नहुन सबै कार्यकर्ताहरुमा आग्रह गरे ।
उनले अबको चार वर्ष जनताको पक्षमा काम गर्न आग्रह गर्दै लोकतन्त्रलाई बचाउन कांग्रेस नै अपरिहार्य रहेको तर्क गरे ।
‘नेपाली कांग्रेस बरालियो भने लोकतन्त्रले मूल्य चुकाउनुपर्छ । त्यतिमात्र नभइ सिंगो देशले मूल्य चुकाउनुपर्छ’–उनले भने ।









प्रतिक्रिया दिनुहोस्