१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


मलेसिया पुगेको ६ दिनमै बेपत्ता बनाइएका बमप्रसादलाई उद्धार गरी नेपाल ल्याइयो


0
Shares

मलेसिया पुगेको ६ दिनमै बेपत्ता बनाइएका ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बमप्रसाद राईलाई बन्धक बनाएर राखिएको ठाउँबाट उद्धार गरेर गएराति नेपाल फर्काइएको हो ।

रोजगारीका सिलसिलामा काठमाडौँको सनलाइट ह्युमन रिसोर्स प्रालिबाट गत फागुन २३ गते मलेसिया पुगेका उनी फागुन २७ गते बसेकै ठाउँबाट बेपत्ता भएका थिए । मलेसियाको व्याङ्गुनान एसआरआई लयाङ जलन थाम्बी बब्दुल्लाह ब्रिकफिल्डस् ५०४७० क्वालालम्पुर कम्पनीमा सुरक्षा गार्डका रुपमा गएका राईलाई बेवारिसे अवस्थामा उद्धार गरेर स्वदेश फर्काइएको छिमेकी माओदीप थुलुङले बताए ।

बेलुकाको खाना खाएपछि सुत्न गएको र राति नै सम्पर्कविहीन बनेका उनलाई १६ घण्टापछि फेला पारिएको थियो । आफन्तले ‘हाम्रो जलेश्वरी, ऐसेलुखर्क गाउँपालिका वडा नं ४ खोटाङ’ नामक फेसबुक पेजबाट सूचना प्रकाशन गरेर सम्पर्कविहीन बनेका उनको खोजी तीव्र पारेका थिए ।

खोजीकै क्रममा नाम बताए पनि कम्पनीको नाम र ठेगाना बताउन नसक्ने अवस्थामा बातुकेभ भन्ने स्थानमा मलेसियामै कार्यरत नरेश ओलीले भेटेर राईको तस्वीर फागुन २८ गते फेसबुकमा अपलोड गरेपछि उनलाई भेटाउन सहज भएको थियो । मलेसियास्थित नेपाली दूतावासमा समेत सूचना पुगेपछि दूतावासले खोजेर सुरक्षित राखेको उनलाई जलेश्वरीकै दुखीप्रसादले बुझेर नेपाल फर्काएका हुन् ।

राईले मेनपावरलाई रु ९० हजार बुझाए पनि मेनपावरले भने रु २० हजारको मात्र भर्पाइ गरिदिएको पाइएको आफन्तले बताएका छन् । मेनपावर कम्पनीलाई उनले तिरेजति रकमको भर्पाइ नभएपछि बाँकी रकम पाउन समस्या भएको छ । (रासस)