
काठमाडौं, मंसिर ९ । ‘लैंगिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आइतबारदेखि सुरु भएको छ । तर, महिलामाथि हुने हिंसा र दुर्व्यवहारका घटनामा भने उल्लेख्य सुधार भएको पाइँदैन । जसको एउटा ज्वलन्त उदाहरण कञ्चनपुरकी निर्मला पन्तमाथि भएको बलात्कारपछिको हत्या हो ।
वर्षेनी औपचारिक कार्यक्रम गरी यो अभियान चल्दै त आएको छ तर व्यवहारिक रुपमा समाजमा लैंगिक हिंसा उल्लेख्य मात्रामा कम भने हुन सकेको छैन । तीमध्ये बहुचर्चित र बहुप्रचारित घटना निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या हुनु र त्यसका दोषी अहिलेसम्म फेला नपर्नु एउटा प्रतिनिधि घटनामात्र हो । यो घटनाबाहेकका अधिकांश घटना ओझेलमा छन् त कतिपय चर्चामा नआई भित्रभित्रै मिलाउने गरिन्छ ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै चार महिना पुग्न लागेको छ । तर सरकार अहिले पनि अनुसन्धानमै देखिन्छ । हत्या भएको यत्रो समयसम्म पनि हत्यारा पत्ता नलाग्दा समाजमा प्रहरीमाथिको विश्वास कमजोर बन्दै गएको छ ।
यस्ता अभियानले महिलामाथि हुने हिंसामा कुनै फरकै नपरेको भने होइन । तर यस्ता अभियानहरु बर्षैपिच्छे चलाईदा पनि महिला हिंसाका घटना बारम्बार किन भइरहन्छन् भन्ने प्रश्न महत्वपूर्ण हो ।
निर्मला पन्तको परिवारले न्याय नपाउँदा परिवार नै विक्षिप्त अवस्थामा पुगेको छ भने धर्नामा बसेका निर्मला पन्तका बुवा यज्ञराजले मानसिक सन्तुलन गुमाउने अवस्था देखिएको छ । औपचारिकता र नारामा मात्र सीमित यस्ता अभियानलाई कर्मकाण्डी मात्र नबनाई व्यावहारिक रुपमै सार्थक पार्नु अहिलेको आवश्यकता हो ।
प्रतिक्रिया दिनुहोस्