
काठमाडौं, मंसिर ९ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारिता पेशालाई व्यावसायिक र विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको नवनिर्मित भवनको आज बूढानीलकण्ठ नगरपालिका–११ पैयुँटारमा उद्घाटन गर्दै उनले सार्क र बिम्स्टेक सम्मेलनका समयमा विदेशी पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलमा ल्याउन प्रयोग भएका सवारी पुराना भए भनी टिप्पणी गर्ने सञ्चारमाध्यमले हाल राष्ट्रपति र उपराष्ट्रपतिलाई खरीद गर्न लागेको साधनका बारेमा नकारात्मक टिप्पणी गरेको बताए ।
‘महाराजगञ्जमा रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्न २० वर्षअघि नै ७०० रोपनी जग्गा खरीद भइसकेको थियो, त्यसलाई सञ्चारमाध्यमले अहिले नै भए जसरी प्रचारप्रसार गरेका छन्,’ उनले भने ।
कलेजले १५ वर्षअघिदेखि शुरु गरेको पत्रकारिता विश्वविद्यालय स्थापनाका लागि सरकारले नीतिगत व्यवस्था गर्न सहयोग गर्ने प्रतिबद्धता उपप्रधानमन्त्री पोखरेलले जनाए । वार्षिक एक लाखभन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेशिने गरेकाले सरकारले प्राविधिक र रोजगारमूलक शिक्षालाई प्रवर्द्धन गर्न लागेको जानकारी पनि उनले गराए ।
राष्ट्रियसभाकी सांसद कोमल ओलीले सांसद, मन्त्री, कर्मचारीलगायत जोसुकैले गल्ती गरे पनि पत्रकारिता जगतले खबरदारी गर्नुपर्ने बताइन् । ‘सञ्चारजगतले सरकारका कमीकमजोरी लेख्ने तर उद्योगपतिले कर नतिरेको समाचार विज्ञापनको स्रोत बन्द हुन्छ भन्ने भयले नलेख्ने गर्नुहुँदैन, पत्रकारले समाचार लेख्दैमा के–के न हुन्छ भन्ने भयबाट कोही पनि डराउनुहुँदैन,’ कलेजमा पत्रकारितामा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत उनले भनिन् ।
राजनीति गर्नेले स्पष्ट र इमान्दार हुनुपर्ने सांसद ओलीको भनाइ थियो ।
कलेजकी संस्थापक क्याम्पस प्रमुख डा मञ्जु मिश्रले सन् २००१ जनवरीदेखि अध्यापन शुरु भएको कलेजलाई आमसञ्चार विश्वविद्यालयका रुपमा विकास गर्ने पूर्वाधार तयार पारेको बताइन् ।
निजी क्षेत्रलाई समेत विश्वविद्यालय खोल्ने गरी नीति निर्माण गर्न उनले माग गरिन् । सात रोपनी क्षेत्रफलमा फैलिएको कलेजमा ६ तल्ला र ३४ कोठा छन् ।
कलेजका लागि चीन र नर्वेले पत्रकारितालाई उपयोगी हुने उपकरण उपलब्ध गराएको जनाइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्