२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


बम विस्फोटको विरोधमा बन्द, मोर्चाले लियो जिम्मा


0
Shares

उद्योग वाणिज्य संघ, लहानको आह्वानमा बिहानैदेखि बजार, पसल बन्द भएको संघका अध्यक्ष सुनिल महतोले जानकारी दिए ।

तीन/चार महिनादेखि पटक–पटक उद्योगी तथा व्यापारीकेन्द्रित विस्फोट र आक्रमण बढेपछि सरकारी निकायलाई सचेत गराउन बन्दको आह्वान गरिएको अध्यक्ष महतोको भनाइ छ ।

‘तीन/चार महिनामा पटक–पटक गरी चार/पाँचओटा आक्रमण भए । तर, सुरक्षा निकायले यसलाई गम्भीररुपमा नलिएकाले बाध्य भएर बजार, पसल बन्द गरेर विरोध जनाएका हौं’–अध्यक्ष महतोले भने ।

व्यवसायीको सुरक्षाका लागि प्रशासनले ठोस कदम नचाले अझ सशक्त आन्दोलनका कार्यक्रम सन्चालन गर्न बाध्य हुने अध्यक्ष महतोले बताए ।

लहानबजारस्थित विकास ट्रेडर्समा शुक्रबार प्रेसरकुकर बम विस्फोट हुँदा ७ वर्षीय बालकसहित ८ जना घाइते भएका थिए ।

विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले लिएको छ ।

मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग लिन गएका आफ्ना कार्यकर्तालाई प्रहरीद्वारा पक्राउ गर्ने षडयन्त्र गरेकाले चेतावनीस्वरुप प्रेसरकुकर बम विस्फोट गराएको उल्लेख गरेका छन् । रासस