
नृप हमाल/ईमेज:
हुम्ला, चैत १२ । सोमवार बिहानैबाट सुरु भएको हावाहुरीका कारण हुम्लाको सिमकोट विमानस्थलमा हवाई यातायात अवरुद्ध भएको छ ।
नेपालगञ्ज र सुर्खेतबाट सिमकोटमा हुने हवाई उडान हावाहुरीका कारण प्रभावित हुँदा नेपालगञ्ज र सुर्खेतबाट सिमकोट आउने र सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रुहरु आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन् ।
हावाहुरीकै कारण उडान नहुँदा खाद्यान्न, कार्गो सामान, व्यापारीक सामानको ढुवानी समेत हुन सकेको छैन । बिहानै देखि उडान नहुँदा दैनिक भिडभाड भै रहने विमानस्थल आज सुनसान भएको छ ।
बिहानैं देखि चलेको हावाहुरीका कारण उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय सिमकोटका बरिष्ठ अधिकृत राजु महतोले जानकारी दिएका छन् ।
सिमकोट विमानस्थलमा टुईनेटर, डोनियर, लेट र सेस्ना जहाजले उडान भर्ने गरेको साथै यो सिजनमा दैनिक १५ देखि २० उडान हुने गरेका थिए तर आज बिहानैबाट २२ नट्ससम्म हावा चलेको कारण आजका सम्पूर्ण उडान प्रभावित भएको महतोले बताए ।
सिमकोट बिमानस्थलमा तारा, गोमा, सिता र मकालु एअरले नेपालगञ्ज र सुर्खेतबाट दैनिक उडान गर्दै आएका छन् भने नेपाल एअरलाईन्सले नेपालगञ्जबाट हप्ताको एउटा उडान भर्दै आएको छ ।
बिहानैबाट शुरु भएको हावाहुरीले पैदलयात्रीलाई समेत प्रभावित पारेको छ भने हावाहुरीले धुलाम्य बनाएको र घर बाहिर निष्कन पनि अपठ्यारो भएको छ ।
हावाहुरी चल्दा हिड्न समेत अपठ्यारो भएको स्थानीयबासी दिनेश रावतको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्