
सोमबार तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सन्जाल तथा केही सन्चारमाध्यमले अमर्यादित गतिविधि देखाएको भन्दै त्यसबाट आफू दुःखी भएको उल्लेख गरेकी छन् ।
‘नेपाल तामाङ घेदुङले मकवानपुर, पदमपोखरीको घटना सम्बन्धमा यही चैत ७ गते गृहमन्त्रीसमक्ष राखेका विषयवस्तु ध्यानाकर्षणपत्रमा स्पस्ट उल्लेख गरिएको र सन्दर्भवश आफू त्यस टोलीमा सहभागी भएपनि केही अनलाइन मिडियाले नियोजितरुपमा नबुझी, पत्रकारिताको सामान्य मूल्यलाईसमेत ख्याल नगरी तथ्यलाई बंग्याएर गलत प्रचार गरी बदनाम गरेका हुन्’–उनले भनेकी छन् ।
गौहत्या गर्न पाउनुपर्ने एवं त्यसको मासु खान पाउनुपर्ने कानुन चाहिने भनेर माग गरिएको भनेर आएको समाचार झुटो एवं निन्दनीय रहेको र आफू त्यसरी प्रस्तुत् नहुनेमा जानकारसमेत रहेको उपसभामुख तामाङले स्पस्ट पारेकी छन् ।
‘लडेर मरेको गाईलाई व्यक्तिगत रिसइबीका कारण मारेको आरोप लगाइ सोझा गाउँलेसँग पैसा असुल्ने र नाजायज दुःख दिने बिचौलियाबाट मकवानपुरका पीडित न्याय माग्दै भौंतारिइरहेका छन्’–उनले भनेकी छन्–‘घटनाको वास्तविकता बुझाउने सन्दर्भमा सम्बन्धित निकायसम्म पुर्याएर न्याय प्रदान गर्नु सबैकोे जिम्मेवारी रहेकाले गृहमन्त्रीसमक्ष आफूले त्यस विषयमा ध्यानाकर्षण गराएको हो ।’
‘देशमा ठूलो बलिदानको जगमा धर्मनिरपेक्षतासहितको नयाँ संविधान जारी भएकोमा संविधानको मूल मर्मसँग बाझिएका कानुन क्रमशः संशोधन हुँदै जानेछन् । यसमा अनावश्यक बहस र गलत प्रचारको पछि नलाग्न आमजनसमुदायलाई आग्रह गर्दछु’ भन्दै उनले सन्चारकर्मी र सामाजिक सन्जाल प्रयोगकर्तालाई आमसन्चारको मूल्य–मान्यता एवं साइबर कानुनको ख्याल गर्न पनि अनुरोध गरेकी छन् ।
नुवाकोटको क्षेत्र नम्बर–१ प्रदेश ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर प्रदेश नम्बर–३ को उपसभामुखमा निर्वाचित भएकी तामाङ पूर्वकृषि विकास राज्यमन्त्रीसमेत हुन् । रासस
प्रतिक्रिया दिनुहोस्