२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


छाउगोठमा लडेर घाईते भएकी किशोरी भन्छिनः आर्थिक अभावले उपचार गर्न सकिएन


0
Shares

-नृप हमाल/ईमेज:
हुम्ला, चैत १३ । हुम्लाको सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफयाकी १६ बर्षीया किशोरी लक्ष्मी शाही छाउगोठ बाहिर लडेर घाईत भएकी छन् ।

पानी परेकोबेला छाउगोठ बाहिर निस्किंदा किसोरी लडेर घाईते भएकी हुन् । महिनावारी (रजश्वला) भएका बेलाछाउगोठमा लड्दा शाहीको दाँया खुट्टाको पिडुलाको माथिल्लो भाग नचल्ने भएको छ ।

घरभन्दा टाढा रहेको छाउगोठमा छोरी लडेको आमाबाबुले पछिल्लो दिन मात्र थाहा पाएका थिए ।

गाउँमा किशोरी लडेको थाहा पाएपछि ‘देवता रिसाएर’ यस्तो भएको भनेकाले गाउँमैं देवीदेवताको पुजाआजा गरियो तर ठिक भएन घाईते शाहीले बताइन ।

फागुन २० गते छाउगोठमा लडेर घाईते भएकी लक्ष्मीलाई गाउँमैं धामीझाँक्री कहाँ गई उपचार गराउँदा ठिक नभएपछि चैत्र ९ गते मात्र जिल्ला अस्पताल हुम्लामा ल्याएको आमा धनकौंरा शाहीले बताइन ।

गाउँमा महिनावारी भएका बेला घोडालाई छोएकोले देवता रिसाएर यस्तो भएको भनेपछि दुई खसी देवताको नाममा बलि चढाईयो तर ठिक नभए पछि जिल्ला अस्पतालमा ल्याएको उनी बताउँछिन् ।

जाङ्ग्राको माथिल्लो भागमा नेक अफ फिमर भएको र नेलप्लेटिङ्ग गर्नु पर्ने भएकाले जिल्ला अस्पताल हुम्लाले आईतवार नैं सुबिधायुक्त अस्पतालमा उपचारका लागि रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.रञ्जित कुमार यादवले बताए ।

अस्पतालले यहाँ उपचार हुन नसक्ने भनेपनि आफुसंग केही पनि छैन कसको भरमा जिल्ला बाहिर जाने घाईते किसोरीकी आमाले दुख व्यक्त गरिन् ।

कसैले सहयोग गरेमा छोरीको उपचार गर्न सकिन्थ्यो की भन्दै दुखःका आँसु पोख्न पुगेकी उनले उपचारको लागी सहयोग नपाए छोरीलाई बोकेर घर फर्किनुको विकल्प नभएको समेत बताइन ।

जिल्लामा भएका संघसंस्था र सरकारी कार्यालयमा गएर सहयोगको अपिल गर्न आफु नसक्ने भएकाले कसैले छोरीको उद्दार गरि दिए धन्य हुने समेत बताइन ।

राज्यले छाउपडी प्रथालाई फौजदारी अपराधको सूचीमा राखी मुलुकी अपराध संहिता विधेयक २०७४ पारित गरेको भए पनि हुम्लाका गाउँहरुमा छाउपडी प्रथा व्याप्त रहेको पाइन्छ ।

रजश्वला, सुत्केरी भएको वेला छुईछाई गर्न नहुने यदि यसो गरेमा देवता रिसाउने र नराम्रो हुने अन्ध बिश्वास अझै व्याप्त रहेको सिमकोट ४ हिल्दुमकी झुप्री शाहीले बताइन ।

पुरुषले भन्दा महिला आफैंले पहिलेदेखि चलिआएको परम्परालाई छोड्न नसकेका कारण यस्ता घटना हुने गरेको उनको भनाई छ ।

राज्यले छाउपडीलाई कानूनी दायरामा ल्याएको घोषणा गरे पनि दुरदराजका बस्तीका महिलाहरुमाजनचेतनाको कमीले गर्दा रजश्वला र सुत्केरी भएको बेला छाउगोठमा नैं बस्ने गरेका छन् ।