२ असार २०८२, सोमबार | Tue Jun 17 2025


कुटनीतिज्ञलाई प्रधानमन्त्रीको कडा ब्रिफिङ– ‘सदभाव बिथोल्ने काम नहोस्’


0
Shares

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित दिवा भोजमा मंगलबार उनले विदेशी स्वार्थप्रेरित एजेन्डाबाट नेपाल र नेपाली पीडित हुन नहुनेमा कूटनीतिज्ञलाई सावधान गराएका हुन् ।

विवादित ईयू प्रतिवेदनमाथि दुई दिनअघि कडा टिप्पणी गरेका ओलीले मंगलबार नियोगका कूटनीतिज्ञसामु आफूहरू आन्तरिक मुद्दा सल्टाउन आफैं सक्षम भएको बताउँदै नेपालका आन्तरिक मामिलामा अनावश्यक चासो नराख्नसमेत आग्रह गरे ।

ठूलो मूल्य चुकाएर आफूहरूले शान्ति स्थापना गर्न सकेको बताउँदै उनले नेपालको शान्ति र स्थायित्व खलबल्याउने प्रयास कसैलाई पनि नगर्न चेतावनी दिए ।

उनले भने, ‘अब नेपाली समाजमा हिंसा स्वीकार्य छैन । नेपालको सामाजिक एकता भाँड्ने र सद्भाव बिथोल्ने कुनै पनि दुष्प्रयास गर्नेलाई सबै नेपाली एकजुट भएर पराजित गर्नेछौं ।’

प्रधानमन्त्री ओलीले जननिर्वाचित संविधानसभाबाट जारी प्रगतिशील र लोकतान्त्रिक संविधान र राजनीतिक रूपान्तरण प्रक्रियाका साक्षी नेपालस्थित विदेशी कूटनीतिज्ञहरू नै भएको पनि बताए ।

उनले एक दशकयता भइरहेको तीव्र राजनीतिक रूपान्तरणबाट सबै क्षेत्र प्रभावित भएको पनि उल्लेख गरे । समावेशीता नै नेपालको संविधानको मूल मर्म भएको भन्दै ओलीले स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को सफलतापूर्वक सम्पन्न चुनावलाई अर्को कोसेढुंगाका रूपमा व्याख्या गरे ।

प्रधानमन्त्री ओलीले स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता हुन नसक्ने अडान दोहोर्‍याए । उनले सबै नेपालीले राष्ट्रको कहिल्यै पराधीन हुनु (कसैको उपनिवेश बन्नु) नपरेकोमा गर्व गर्दै भने, ‘नेपालीका लागि देशको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रिय हित र स्वतन्त्रताको रक्षा नै राष्ट्रियता हो ।’–अन्नपूर्ण पोस्ट दैनिकबाट