
काठमाडौं, मंसिर ८ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को ८७औं महासभामा भाग लिएर स्वदेश फिर्ता भएका छन् ।
महानिरीक्षक खनाल मंसिर २ गतेदेखि ५ गतेसम्म युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको इन्टरपोलको ८७औं महासभामा भाग लिएर शनिबार बिहान १०.१५ बजे स्वदेश फर्किएका हुन् ।
विश्वका १९२ देशका प्रतिनिधि सहभागी उक्त महासभामा अन्तरदेशीय अपराध चेलिबेटी बेचबिखन, अवैध हातहतियारको कारोबार र रोकथामको विषयमा छलफल भएको थियो ।
साथै, उक्त महासभामा सदस्य राष्ट्रका वार्षिक प्रतिवेदन पेस, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीको निर्वाचनसमेत भएको थियो ।
महासभामा इन्टरपोल तथ्यांक प्रशोधनको आवश्यकता, सन् २०१७ को बजेटसम्बन्धी लेखापरीक्षकको प्रतिवेदन, सन् २०१९ का कार्यक्रम तथा खर्च बजेटसम्बन्धी प्रस्ताव, आतंकवाद र आतंककारी क्रियाकलापमा लगानी, साइबर अपराध, मानव बेचबिखनजस्ता विषयमा संकल्प प्रस्ताव प्रस्तुत् तथा पारित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
महासभामा भाग लिन महानिरीक्षक खनाल कात्तिक ३० गते राति दुबई प्रस्थान गरेका थिए ।
महानिरीक्षक खनालसँगै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र इन्टरपोल शाखाका प्रमुख एवं प्रहरी उपरीक्षक उमेशराज जोशीसमेत दुबई गएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्