२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दुई वर्षदेखि तीन वर्षीय बालक कारागारमा


0
Shares

रुकुम, चैत १७ । रुकुम पश्चिमको जिल्ला कारागारमा दुई वर्षदेखि एक नाबालक कारागारमा बस्न बाध्य छन् ।

बाँफीकोट गाउँपालिका ७ की सुनिता खत्रीका तीन वर्षीय छोरा आमासँगै कारागारमा बस्न बाध्य भएका हुन् ।

दुई वर्षअघि कर्तव्य ज्यानमुद्दामा आमा कारागार चलान भएपछि छोरा पनि कारागारमा बस्नु परेको छ ।

आमा कारागार चलान हुँदा छोरा एक वर्षका थिए । दुई वर्षदेखि जिल्ला कारागारमा रहेका उनलाई निकाल्न कुनै पहलकदमी भएको छैन ।

निर्दोष नाबालक कारागारमा बस्नुपर्दा भविष्य अन्यौलमा परेको छ ।

आफुसँगैका केटाकेटी कारागार बाहिर खेलेको देख्दा उनी भने कारागारभित्रबाट बाहिर हेर्दै छटपटाउने गरेको आमाको भनाइ छ ।

स्कुल जाने उमेर हुन लागेका उनलाई कारागारबाहिर राख्ने वैकल्पिक उपाय नहुँदा पढ्नबाट बञ्चित हुँदैछन् । घरका अभिभावक पनि सम्पर्कविहीन भएका छन् ।

कुनै सामाजिक संघसंस्थाले सहयोग गरे पढाउने सोचमा आमा छिन् । कसैले सहयोग गरे पढाउन सहज हुने जेलर बलबहादुर केसीको भनाइ छ ।