
बिराज रोस्यारा/ईमेज:
कैलाली, चैत १८ । सिवाईवी अत्तरियाको धनगढीमा जारी दोस्रो रुस्लान धनगढी प्रिमियर लिगको आईतबार भएको पहिलो खेलमा सिवाईसी अत्तरिया विजयी भएको छ ।
टस हारेर फिल्डिङ्ग गरेको अत्तरियाले १५ दशमलव २ ओभरमा रुपन्देही च्यालेन्जर्सलाई ६१ रनमा अल आउट गरेको हो ।
६२ रनको झिनो विजय लक्ष्य सिवाईसी अत्तरियाले १ विकेटको नोक्सानीमा ७ दशमलव ३ ओभरमा पुरा गर्दै विजयी भएको हो ।
अत्तरियाका लागि भारतीय खेलाडी शौरभ चित्काराले अविजित ३० रन बनाउँदै आफ्नो टिमलाई विजयी बनाए ।
उनले १३ बलको सामना गर्दै तिन छक्का र २ चौका प्रहार गरेका थिए । प्रारम्भिक ब्याट्सम्यान शुभाष खकुरेलले १९ र प्रेम तामाङ्गले १४ रन बनाए ।
रुपन्देहीका लागि ओमानका खेलाडी सुफ्यान मेहमुद ५० बलको सामना गर्दै २० रनमा अविजित रहेपनि आफ्नो टिमलाई जित भने दिलाउन सकेनन् ।
कप्तान शक्ति गौचन समेत सिवाईवी अत्तरियाका शुभाष खकुरेलको बलमा ८ रन बनाएर आउट हुन पुगे भने अन्य कुनै पनि खेलाडीहरुले दोहरो अंकको रन बनाउन सकेनन् ।
रुपन्देहीलाई सजिलै समेट्न सिवाईसी अत्तरियाका कमल सिंह ऐरीले चार ओभरमा १५ रन खर्चेर महत्वपुर्ण ४ विकेट झारे ।
त्यस्तै अण्डर नाईन्टीनका खेलाडी शुभांकर उराऊले समेत राम्रो बलिङ्ग गर्दै रुपन्देहीको ३ विकेट हात पारे ।
उनले २ दशमलव २ ओभरमा ७ रन खर्चेर तीन विकेट लिए । यसैगरी अत्तरियाका कृष्ण कार्की, विपिन चन्द्रा र दिपेन्द्र सिंह ऐरीले समान एक/एक विकेट हात पारे ।
प्रतियोगितामा चार ओभरमा १५ रन खर्चेर ४ विकेट लिएका सिवाईसी अत्तरियाका कमल सिंह ऐरी म्यान अफ दी म्याच घोषित भए ।
आज दिउसो १ बजे हुने दोस्रो खेलमा महेन्द्रनगर युनाईटेड र विराटनगर किङस प्रतिस्पर्धा गर्दैछन ।
प्रतिक्रिया दिनुहोस्