
दुई सय वर्षअघि तत्कालीन बाईसे र चौबीसे राज्यले निर्माण गरेका मन्दिर, देवल, कुवा, दरबारलगायतका अवशेष नै लोप हुन लागेका हुन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ पोख्रेलगाउँमा रहेको २ सय वर्ष पुरानो ढुंगैढुंगाले बनाएको जहारी कोटे मन्दिर संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ ।
उचित संरक्षणको अभावमा पुरातात्विक सम्पदाहरु लोप हुने अवस्थामा पुगेको स्थानीय दुर्गाप्रसाद जैसीले बताए । दुई सय वर्षअघि जाजरकोटी जगतीपुरे राजा शिवनारायणले रुकुमे कोटजहारी राजा विक्रमदेवसँग मीत लगाउने क्रममा पुरातात्विक सम्पदा बनाइदिएको स्थानीयबासीले बताउने गरेका छन् ।
रुकुमका मुसिकोट, आठविसकोट, रुकुमकोट, बाँफीकोटलगायतका राजाहरुले निर्माण गरेका पुराना भौतिक संरचना पनि लोप हुने अवस्थामा छन् । बाईसे र चौविसे राजाहरुले निर्माण गरेका भौतिक संरचना प्रशस्त भए पनि नवनिर्वाचित प्रतिनिधिहरुले संरक्षणमा कुनै चासो दिन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्