२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नाममात्रैको उपप्रमुखः श्रीमान् र छोरा–छोरीले गर्छन् काम (भिडियो रिपोर्ट)


0
Shares

कानुनी उपचारदेखि अरु काम राम्रोसँग नबुझ्दा आफूहरुलाई समस्या भएको उनीहरु बताउँछन् ।

कतिपय उपप्रमुख महिलाहरुको काम त उनीहरुका श्रीमान् या छोराहरुलेसमेत गरिहेका छन् ।

बाजुरा जिल्लाको स्वामी–कार्तिक गाउँपालिकाकी उपप्रमुख ६१ वर्षी मिमा बुढालाई गाउँपालिका सम्हाल्ने जिम्मेवारी दिएर जनताले पठाए ।

तर, उनलाई भने उपप्रमुखले गर्नुपर्ने काम र कर्तव्यबारे केही थाहा छैन । राम्रोसँग बोल्न र भनेको बुझ्नसमेत समस्या रहेको बुढाको काम छोराहरुले गरिदिन्छन् ।

मिमा एक हप्तामा एकपटकमात्र गाउँपालिका जाने र पुगेर ल्याप्चे लगाउने गर्छिन् ।

उनी त एक उदाहरणमात्र हुन्, हाल स्थानीय तहमा नाममात्रैको उपप्रमुख धेरै महिला छन् । जसको काम कि त श्रीमान्ले, कि त छोरा–छोरीहरुले गर्दछन् ।

राजधानीमा भइरहेको गाउँपालिका महासंघको महाधिवेशनमा आएका देशभरका उपप्रमुख महिला काम गर्न आफूहरुलाई निकै समस्या भएको बताउँछन् ।

महाधिवेशनमा भेटिएका धेरै महिला कानुन नबुझेका कारण आफूहरुबाट जनताले गरेको अपेक्षा पूरा गर्न नसकेको गुनासो गर्छन् ।

कसरी काम गर्ने ? फेरि त्यसले पछि केही समस्या पो पार्ला कि भन्ने अन्योलमा उनीहरु छन् ।

धेरैजस्तो स्थानीय तहमा साँध, सीमाना, बहुविवाह, बालविवाह, बलात्कार र झै–झगडाको मुद्दा बढी आउने गरेको उनीहरुले बताए ।

धेरै महिला उपप्रमुख त आफ्नै अध्यक्षबाटसमेत साथ र सहयोग नपाएको गुनासो गर्छन् । मिटिङमासमेत सामेल नगर्ने, होच्याएर बोल्ने गर्दा निकै समस्या परेको गुनासो उनीहरुको छ ।

मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा अधिकार प्रत्यायोजन गरिएको छ । स्थानीय सरकार चलाउने जिम्मा यिनै प्रतिनिधिले पाएका छन् ।

तर, संविधानले व्यवस्था गरेको अधिकार कार्यान्वयनमै देखिएका यस्ता अड्चनले आफ्नै घर–आँगनमा न्यायदेखि विकाससम्म पाउने नागरिकको अपेक्षामा भने अझै अन्योल देखिएको छ ।

भिडियो हेर्नुहोस्