Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सरकार ९ महिनामै असफल भएको कांग्रेसको निष्कर्ष, ‘यो देशमा सरकार कहाँ छ ?’


0
Shares

काठमाडौं, मंसिर ६ । नेपाली कांग्रेसले वर्तमान सरकार ९ महिनाको अवधिमै असफल भएको निष्कर्ष निकालेको छ ।

सरकारको समीक्षा गर्दै कांग्रेसले ९ महिनाको अवधिको वस्तुगत तथ्यले सरकार असफल भएको निष्कर्ष निकालेको हो ।

‘नेपालमा सरकार छ ?’ भन्दै कांग्रेसले ‘छ भने कहाँ छ ?’ भनेर छोटो तर कारुणिक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था आएको टिप्पणी गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले शान्ति–सुरक्षा र सुशासन कायम राख्न सरकार असफल भएको जिकिर गरे ।

उनले प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा दुईजनाको हत्या भएको, सर्लाही र रोल्पामा कांग्रेसका दुई कार्यकर्ताको हत्या भएको र निर्मला पन्त हत्याका दोषी पत्ता लगाउन सरकारले नसकेको बताए ।

सरकार आफैं संघीयता असफल पार्न लागेको आरोप लगाउँदै शर्माले न्यायालयमा राजनीतिक अतिक्रमण भएको आरोप पनि लगाए ।

मन्त्रिपरिषदको निर्णय ७ दिनमा सार्वजनिक गर्ने सरकारको निर्णय तत्कालै सूचना पाउने नागरिकको हक र पारदर्शिताको प्रतिबद्धताविपरीत भएको कांग्रेसको ठहर छ ।

विकासका ठूला परियोजना प्रधानमन्त्री कार्यालय मातहत ल्याउने काम संघीयताको मर्मप्रतिकूल हुने भन्दै कांग्रेसले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिद प्रकरणको वास्तविकता रहस्यमय बनेको पनि जनाएको छ ।

कांग्रेसले अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्यमा निरन्तर गिरावट आएको भन्दै स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न माग गरेको छ ।

यस्तै, कांग्रेसले जयनगर–जनकपुर–कुर्था रेलसेवाको उद्घाटन भारत, उत्तर प्रदेशका मुख्यमन्त्रीले गर्ने तयारीको पनि विरोध गरेको छ ।