
एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टी एकताका लागि आ–आफ्नो दलबीच पुनः एक पटक छलफल गर्ने सहमति भएको हो ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि एकताको मिति तय गर्ने निर्णय गरेको छ । बैठकले एकता कार्यदलले दिएको सुझावसहितको प्रतिवेदनलाई सकारात्मक रुपमा लिँदै आगामी वैशाख ९ गते नै एकता गर्ने गरी छलफल अघि बढाउने निर्णय गरेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पार्टी एकताका लागि गठित दुई वटा कार्यदलले यसअघि नै प्रतिवेदन बुझाइसकेका छन् । कार्यदलमा एकीकृत पार्टीको चुनाव चिह्न र विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने या नराख्ने भन्ने विषयमा कुरा मिलेको छैन । यी विषयमा प्रधानमन्त्रीको भारत भ्रमणपछि सहमति गरिने नेताहरुले बताएका छन् ।
एमाले र माओवादीका नेताहरुले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर आगामी बैशाख ९ गते पार्टी एकता घोषणा गर्ने बताएका छन् । पार्टी एकताको निर्णय अनुमोदन गर्न एमालेले बैशाख ६ गते पोलिटब्यूरो र ७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्