२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


रुपन्देही च्यालेन्जर्स डीपीएलबाट बाहिरियो


0
Shares

बिहीबार भएको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडसँग ४ विकेटले पराजित भएसँगै रुपन्देहीको यात्रा लिग चरणमा नै सकिएको हो । यो उसको लगातार चौथो हार हो ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।

११ रन हुँदा पहिलो विकेट गुमाएको टिमको पारीलाई प्रदीप ऐरी र कुशल मल्लले सम्हाल्ने प्रयास गरेका थिए । उनीहरुले दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरे ।

मल्ल व्यक्तिगत १५ रनमा आउट भए । ऐरी ३९ रन जोडेर पवेलियन फर्कंदा रुपन्देही ६३ रनमा ३ विकेट गुमाएको स्थितिमा थियो ।

रुपन्देहीका लागि दीपक प्रसादले १७ रनको योगदान गरे भने सागर पुनले २८ रन बनाए । तर, त्यसपछिका खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ महेन्द्रनगरका लागि पुनित विष्ट एक्लैले ४ विकेट लिए ।

जवाफमा कप्तान विनोद भण्डारीको उत्कृष्ट ब्याटिङको मद्दतमा महेन्द्रनगरले १८ ओभर ५ बलमा ६ विकेट गुमाउँदै विजयी लक्ष्य पूरा गर्‍यो । विनोदले ४८ बल खेल्दै ६१ रन बनाए ।

१७ रनमा २ विकेट गुमाइसकेको महेन्द्रनगरका लागि विनोद र पुनित विष्टले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए ।

पुनितले २२ बलमा ४५ रन बनाए भने पुनित मेहराले १६ बलमा १६ रनको योगदान गरे । पुनित खेलको ‘म्यान अफ दी म्याच’समेत घोषित भए ।

जितपछि महेन्द्रनगरले ३ खेलबाट ४ अंक बनाउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतियोगिताअन्तर्गत् शुक्रबारको खेल विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबीच हुने जनाइएको छ ।