
त्रिवि सामान्य प्रशासन महाशाखाले यही चैत १६ गते पत्र पठाइ सबै निकायलाई सो व्यवस्थाका लागि निर्देशन गरेको हो ।
बाँकेका नमस्कार शाह, मन भण्डारी, हेमराज भट्ट र प्रतिक्षा गिरीले गत चैत १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सम्बोधन गरी ‘हेलो सरकार’मा ‘विश्वविद्यालयलाई धूमपान निषेधित क्षेत्र बनाइयोस्’ भन्ने उजुरी दर्ता गरेपछि जनगुनासो व्यवस्थापनका लागि विश्वविद्यालयले सो निर्देशन गरेको हो ।
उजुरीमा ‘सरकारले सिंहदरबारभित्र खैनी–चुरोट बोकेर प्रवेश निषेधको नियम लागू गरिसकेको तर त्रिभुवन विश्वद्यालयको केन्द्रीय कार्यालय परिसरमा थुप्रै विद्धानहरु धूमपान गरेर बसिरहेको भेटिने गरेको र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरको क्यान्टिनबाट खुलेआम चुरोट बिक्री–वितरण भइरहेको पाइएको’ उल्लेख छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन २०६८ ले सार्वजनिकस्थलमा धूमपान निषेध गरेको, शिक्षण संस्था र त्यसको १०० मिटर वरपर धूमपान गर्न, सुर्तीजन्य पदार्थ बेचबिखन गर्न रोक लगाएको भएपनि त्रिभुवन विश्वविद्यालयमा यो कानुनको पालना नभएको भनी गुनासो गरिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले हेलो सरकारको अनलाइन पोर्टलमार्फत् त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित सबै निकायका सम्बन्धमा आएका जनगुनासा त्रिवि केन्द्रीय कार्यालयमा पठाउँदै आएको छ ।
त्रिवि सूचना तथा जनसम्पर्क महाशाखामा रहेको हेलो सरकार डेक्सबाट जनगुनासो व्यवस्थापनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने गरिएको नोडल अधिकृत रेणु श्रेष्ठले बताइन् ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धूमपान तथा सुर्तीसेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ । रासस
प्रतिक्रिया दिनुहोस्