
रुपन्देही–काठमाडौं सम्पर्क मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सो स्मृतिग्रन्थको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गर्दै ढकाल निर्भीक, निष्कपट र प्रतिकूल अवस्थामा काम गर्नसक्ने योद्धा भएको स्मरण गरे ।
‘उहाँ पार्टीलाई बलियो बनाउन, देशमा सकारात्मक तरिकाले परिवर्तन ल्याउन र गतिशील ढंगले प्रतिकूल अवस्थामा पनि काम गर्नसक्ने हुनुहुन्थ्यो’–उनले थपे ।
एमाले अध्यक्ष ओलीले अप्ठ्यारो परिस्थितिमा कसरी काम गर्नसकिन्छ भन्ने विषयमा उनको स्मृतिग्रन्थको अध्ययनबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
उनले भने–‘पोखरामा जेलमा बस्दा २०३९/०४० सालमा नेता ढकालसँग मेरो भेट भएको थियो । विद्यार्थी आन्दोलन र युवा आन्दोलनकर्मी, जनताका कुशल जनप्रतिनिधि र देशको विकास गर्ने योद्धाकोरुपमा मैले उहाँलाई देखेको थिएँ ।’
नसोचेको उमेरमा नेता ढकालको अचानक स्वास्थ्यमा गम्भीर समस्या देखापरी निधन हुँदा राष्ट्रले देशभक्त प्रतिभा गुमाउनुपरेकामा पार्टीमा अपूरणीय क्षति भएको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।
पार्टीका उपमहासचिव विष्णुप्रसाद पौडेलले नेता ढकाल प्रतिकूलतालाई पनि अनूकलतामा बदलेर काम गर्नसक्ने र राष्ट्रनिम्ति केही गर्नुपर्छ भन्ने सिद्धान्त भएको व्यतित्व भएको बताए ।
अनेरास्ववियुका अध्यक्ष रहेका ढकाल २०५१ सालको निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।
संविधानसभाको निर्वाचन २०६४ मा रुपन्देही–५ बाट विजयी भएर उनले राज्य व्यवस्था समितिको सभापतिकारुपमा पनि काम गरेका थिए ।
गुल्मीको खड्गकोटमा जन्मी पार्टीका पोलिटब्युरो सदस्य र लुम्बिनी अञ्चल इन्चार्ज रहेका ढकालको २०७२ साल चैत २२ गते काठमाडौंस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारकाक्रममा ५४ वर्षका उमेरमा निधन भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्