
नेपाली चलचित्र उद्योग र भारतीय चलचित्र उद्योगबीच मैत्री सम्बन्ध स्थापना गरी एकर्काको अनुभव आदान–प्रदान गर्न प्रधानमन्त्रीको प्रतिनिधिमन्डलमा कलाकर्मीलाई समावेश गरिएको हो ।
प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै शुक्रबार भारतको राजकीय भ्रमणमा जान लागेका छन् ।
भ्रमण दलमा लोकप्रिय नायक राजेश हमाल र निर्देशक दिनेश डिसी सहभागी हुँदैछन् ।
नेपाली चलचित्र उद्योगलाई लामो समयदेखि आफ्नो छाप दिन सफल नायक हमालले रासससँगको कुराकानीमा भने–‘प्रधानमन्त्रीको सरकारी भ्रमण टोलीमा सहभागी हुनु नै मेरा लागि खुसीको विषय हो ।’
नेपाली चलचित्र उद्योगले ‘महानायक’को दर्जा दिएको हमाल नेपाल–भारतबीच राजनीतिक पाटोमात्रै नभइ कला–संस्कृति, सामाजिक एवं साँस्कृतिक एवं चलचित्र क्षेत्रकोसमेत विशेष सम्बन्ध रहेको बताउँछन् ।
नायक हमालले भने–‘नेपाल र भारतबीच सामाजिक, भाषिक, साँस्कृतिक एवं कलाकोसमेत विशेष सम्बन्ध र पाटा छन् । यो नितान्त अलग पाटो हो । त्यससँगै धार्मिक पक्ष पनि छ । यी सबैलाई मध्यनजर गरी सम्बन्धको सेतूलाई अझ बढी प्रगाढ बनाउन हामी आफैंले प्रयास गर्नुपर्छ ।’
दुई देशबीच राजनीतिकसँगै अरु सबै क्षेत्रमा महत्वपूर्ण सम्बन्ध अगाडि बढोस् भनेर नै प्रधानमन्त्रीको भ्रमण दलमा प्रतिनिधित्व गराइएकोजस्तो आफूलाई लागेको नायक हमालको टिप्पणी छ ।
नेपाली कलाकार र भारतीय कलाकारबीचमा छलफलको कार्यक्रम पनि तय भएको छ भन्ने आफूले पाएको जानकारी दिँदै त्यसमा दुई उद्योगबीच मैत्री सम्बन्ध स्थापनाका लागि विशेष पहल हुने विश्वास व्यक्त गरे ।
कला–संस्कृतिले नै दुई देशको सम्बन्धलाई बढी प्रगाढ बनाएको स्मरण गर्दै नायक हमालले धार्मिक, गीत–संगीतका पक्ष नै महत्वपूर्ण एवं सम्बन्ध विस्तारको खास पक्ष रहेको उल्लेख गरे ।
भ्रमण दलका सदस्य निर्देशक डिसीले कलाक्षेत्र र कलाकार राष्ट्रको प्राथमिकतामा छ भन्ने प्रधानमन्त्रीको भ्रमण टोलीमा समावेश गरिएकाले पनि स्पस्ट भएको बताए ।
‘कलाकार पनि राष्ट्रका लागि काम गर्छन् भन्ने देखिएको छ, त्यो हामीले अनुभव गर्न पाएका छौं’–खुसी व्यक्त गर्दै निर्देशक डिसीले भने–‘कला क्षेत्र पनि राज्यको प्राथमिकताको क्षेत्र हो, महत्वपूर्ण क्षेत्र हो भन्ने कुरा सरकारले पहिचान गरेको छ ।’
‘संस्कृति र कलाको क्षेत्रमा काम गर्ने मान्छे पछाडि परेको, मनोरन्जनमामात्र प्रयोग हुने तर राष्ट्रको नीति निर्माणमा प्रयोग नहुने, उद्योगकारुपमा विकास नभएको र पेसाकारुपमामात्र रहिरहेको भन्ने अवस्थामा कलाकर्मी पनि देशको अभिन्न अंग हो भनेर जसरी सरकारले सम्झेको छ, यो नै हाम्रा लागि विशेष गर्वको विषय हो’–निर्देशक डिसीले भने ।
नेपाललाई चलचित्र पर्यटनस्थलकारुपमा विकास गर्नसकिने प्रशस्त आधार रहेको छ ।
नेपालको प्राकृतिक सौन्दर्य र भूबनोट चलचित्र पर्यटनका लागि उपयुक्त स्थल हो भन्ने पनि स्पस्ट भएको छ । प्रचार–प्रसारको अभावमा चलचित्र पर्यटन फस्टाउन सकेको छैन ।
नेपालको आर्थिक उन्नयनका लागिसमेत चलचित्र पर्यटन एउटा विशिष्ट र महत्वपूर्ण पाटो हुनसक्ने निर्देशक डिसीको भनाइ छ ।
उनले भने–‘हामीले युरोप, अमेरिकाको पर्यटक ल्याउनै पर्दैन, भारत र चीनकोमात्रै पर्यटक ल्याउन सकियो भनेमात्रै नेपालको ठूलो आर्थिक विकास हुनसक्छ ।’
नेपालका पोखरा, डोल्पा, जुम्ला, सोलुखुम्बुजस्ता स्थान विश्वकै लागिसमेत सौन्दर्यको अनुपम स्थान भएकाले विदेशी चलचित्रकर्मीलाई नेपाल भित्र्याउनैपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्