२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


टिम चौराहा धनगढी डीपीएलको प्लेअफमा प्रवेश


0
Shares

धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटअन्तर्गत् शनिबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३ रनले हराउँदै टिम चौराहा धनगढी प्लेअफमा पुगेको हो ।

धनगढी साविक विजेता टिमसमेत हो भने रुपन्देही लगातार पराजय व्यहोर्दै यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

संघीय प्रहरीको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित् ८ ओभरमा ७ विकेट गुमाएर ७६ रन बनाएको थियो । शुक्रबार राति भारी वर्षा भएकाले मैदान हिलो भएपछि खेल ८ ओभरमा छोट्याइएको हो ।

सुरुआती विकेट सस्तैमा गुमाएको धनगढीका लागि पाँचौं नम्बरमा आएका सोनु तामाङले विस्फोटक ब्याटिङ प्रदर्शन गरे । उनले मात्र १४ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ३४ रन बनाए । त्यस्तै, रोहन मुस्तफाले १५ रनको योगदान गरे ।

बलिङतर्फ रुपन्देहीका सुशन भारीले ३ तथा दीपेश श्रेष्ठले २ विकेट लिए ।

७७ रनको लक्ष्य पछ्याएको रुपन्देहीले निर्धारित् ओभरमा ५ विकेट गुमाएर ७३ रनमात्र बनाउन सक्यो ।

रुपन्देहीका लागि सागर पुनले १६ बलमा ३३ रनको पारी खेले पनि टिमलाई जिताउन सकेनन् । यस्तै, रुपन्देहीका लागि दीपक प्रसादले १६ रन जोडे ।

बलिङतर्फ धनगढीका मुस्तफाले २ विकेट लिए । खेलको ‘म्यान अफ दी म्याच’ धनगढीका सोनु तामाङ घोषित भए ।

धनगढी जितसँगै लिग चरणका पाँच खेलबाट ६ अंक जोडेर प्लेअफमा पुगेको हो । उसले ३ खेलमा जित र २ खेलमा पराजय व्यहोरेको थियो ।

यसअघि, वर्षाका कारण मैदान हिलो भएपछि शनिबारै हुने तय गरिएको महेन्द्रनगर युनाइटेड र सीवाइसी अत्तरियाबीचको खेल स्थगित गरेर दुवै टोलीलाई १/१ अंक दिइएको थियो ।