
समूह चरणको अन्तिम खेलमा आइतबार पारस खड्का नेतृत्वको विराटनगर किंग्सलाई ६ विकेटले हराउँदै अत्तरिया प्लेअफमा पुगेको हो ।
वर्षाले मैदानमा पानी जमेपछि ६ ओभरमा झारिएको खेलमा पाएको ५६ रनको चुनौती अत्तरियाले २ बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो ।
‘म्यान अफ द म्याच’ घोषित भारतीय खेलाडी विपीन चन्द्रले १३ बलमा अविजित २६ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १५ बलमा २० रन जोडे ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ३ विकेटको क्षतिमा ५५ रन बनाएको थियो ।
दिलीपनाथले ९ बलमा अविजित रहँदै १५ तथा अनिलकुमार शाहले १२ बलमा १५ रन बनाए ।
जितसँगै लिगमा ४ खेलबाट ५ अंक जोडेको अत्तरिया प्लेअफमा पुग्दा ४ अंक रहेको विराटनगर पाँचौं स्थानमा रहँदै बाहिरिएको हो ।
६ टिम सहभागी प्रतियोगितामा अंकविहीन रुपन्देही च्यालेन्जर्स भने यसअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो ।
आइतबार हुने तय भएको काठमाडौं गोल्डेन्स र महेन्द्रगर युनाइटेडबीचको समूह चरणको खेल वर्षाले गर्दा रद्द भयो । दुवै टोली प्लेअफमा पुगेकाले यो खेलले असर पारेन ।
लिगमा अपराजित काठमाडौंले ५ खेलबाट ९ अंक जोड्यो भने समान खेलबाट ६ अंक जोडेको महेन्द्रनगर तेस्रो स्थानमा रह्यो । समान ६ अंक जोडेको टिम चौराहा धनगढी भने दोस्रो स्थानमा रह्यो ।
प्लेअफका खेलहरु मंगलबार हुनेछन् । पहिलो क्वालिफायर खेलमा काठमाडौं र चौराहा भिड्नेछन् । सोही दिन इलिमिनेटर खेलमा महेन्द्रनगर र अत्तरिया भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्