काठमाडौं, मंसिर ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही युवा नेताले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् ।
सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा बुधबार पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएर केन्द्रीय कमिटी बैठक बोलाउन माग गरिएको नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।
उनले बिहीबार बस्ने सचिवालय बैठकबाट तत्काल केन्द्रीय कमिटीको बैठक आह्वान गर्न माग गरिएको बताए ।
‘पार्टीको माथिल्लो तहमा एकीकरण भएपनि तल्लो तहसम्म भएको छैन’–उनले भने–‘जसले गर्दा तल्ला तहका नेता–कार्यकर्तामा निराशा छाएको छ । त्यसैले केन्द्रीय कमिटी बैठक बसाएर तत्काल पार्टी एकतालाई टुंग्याउनुपर्दछ ।’
उनले बैठक बोलाएर केन्द्रीय कमिटीको कार्यविभाजनसमेत गर्नुपर्ने बताए ।
पार्टी एकीकरणपश्चात् पार्टीको केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन ।
ज्ञापनपत्रमा पोटिलब्यूरो गठन, सरकार र पार्टीबीच सम्बन्ध सुधार गर्नुपर्नेलगायतका माग राखिएका छन् ।
ज्ञापनपत्र बुझ्दै महासचिव पौडेलले सचिवालय बैठकबाट केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरिने बताएको नेता गैरेले जानकारी दिए ।
ज्ञापनपत्र बुझाउन नेकपा केन्द्रीय सदस्य डा. विजय पौडेल, गरिमा शाह, रामकुमारी झाँक्री, निरज आचार्यलगायतका नेता पुगेका थिए । रासस









प्रतिक्रिया दिनुहोस्