Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


चीनसँग भएका सहमति पूर्णरुपमा कार्यान्वयन हुन्छ : नेता नेपाल


0
Shares

नेपाल सांघाइ को–अपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना गरिएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन चीन गएका नेता नेपालले चिनियाँ उच्च अधिकारीसँग छलफल गर्दै चीनसँग नेपालले गरेका सहमति र सम्झौताको कार्यान्यवन गर्ने बताएको उनको सचिवालयले जानकारी दिएको छ ।

‘वान बेल्ट एन्ड रोड’ मा नेपालले सम्झौता गरिसकेको उल्लेख गर्दै एमाले विदेश विभागका प्रमुखसमेत रहेका नेता नेपालले यसबाट नेपालले लाभ लिने बताए ।

उच्च अधिकारीसँगको भेटमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको एकताले चीन खुसी भएको उनले बताए ।

‘दुई पार्टीबीचको एकताको कुरालाई उहाँहरु निकै खुसी हुनुभयो । एकता घोषणासभाका लागिसमेत चिनियाँ प्रतिनिधिलाई निम्ता दिएका छौं’–उनले भने–‘उहाँहरु एकताको बेला नेपाल आउने कुरा गर्नुभएको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले चिनियाँ राष्ट्रपतिको भ्रमणकाबारेमा पनि चिनियाँ उच्च अधिकारीसँग छलफल भएको जानकारी दिएको सचिवालयले जानकारी दिएको छ ।

यस्तै, नेता नेपाललाई नेपाल–चीन सम्बन्धमा अतुलनीय योगदान पुर्‍याएबापत त्यहाँको नर्थ वेस्ट विश्वविद्यालयले मानार्थ प्राध्यापक (प्रोफेसर)को उपाधिसमेत प्रदान गरेको छ ।

नेता नेपालले सो अवसरमा सान्सी प्रान्तको सियान विश्वविद्यालयमा रहेको नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गरे ।

उनले नेपाली युवाले छिमेकी राष्ट्र चीनमा गरेको प्रगतिबारे खुसी व्यक्त गरे ।

नेता नेपाल शुक्रबार स्वदेश फर्कने एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए । रासस

Skip This